एमाले संसदीय बोर्ड गठन, झलनाथ खनाल र माधव नेपाल पनि सदस्य

0

काठमाडौं : नेकपा (एमाले)को संसदीय दलको बैठकले २४ सदस्यीय संसदीय बोर्ड गठन गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले बोर्ड गठन गर्ने निर्णय गरेको हो ।

एमालेको २०७२ सालको विधान अनुसार बोर्ड गठन गरिएको सांसद् शेरबहादुर तामाङले जानकारी दिए । संसदीय बोर्डमा नेता झलनाथ खनाल र माधवकुमार नेपाललाई पनि राखिएको सांसद तामाङले बताए ।

उक्त बोर्डको संयोजक प्रधानमन्त्री केपी शर्मा ओली रहेको उनले जानकारी दिए ।

कार्यदल गठन

त्यस्तै बैठकले संसदीय दलको विधान संशोधनका लागि कार्यदल गठन गरेको छ । विशाल भटराई संयोजक रहेको उक्त कार्यदलमा शेरबहादुर तामाङ र विमला पौडेल राई सदस्य रहेको सांसद् तामाङले जानकारी दिए ।

संसदीय दलको अर्को बैठक ७ गते साढे १० बजे बस्ने छ । सोही बैठकबाट संशोधित विधान पारित हुने तामाङले बताए ।

गुटगत भेला नगर्न निर्देशन

यस्तै संसदीय दलको बैठकले गुटगत भेला नगर्न र पार्टीबाहेक अरु कसैको निर्देशन नमान्‍न सांसदहरुलाई निर्देशन दिएको छ ।

बैठकले गुट भेलामा जानेहरुलाई आत्मलोचनासहित दल र पार्टीको कार्यक्रममा सहभागी हुन आह्वान गरेको छ । तर, दलको बैठकको निर्णय नमाने कारबाही प्रक्रिया अगाडि बढाउने चेतावनीसमेत बैठकमा दिइएको छ ।

बिहीबार बसेको संसदीय दलको बैठकमा माधव नेपाल पक्षका केही सांसद सहभागी भएपनि अरु बाटोबाटै फर्किएका थिए ।

Leave A Reply

Your email address will not be published.