जसपाको बैठक आज बस्दै, महन्थ ठाकुरलाई दलको नेता चयन गर्ने तयारी

0

काठमाडौं : जनता समाजवादी पार्टी ‘जसपा’को राष्ट्रिय कार्यकारिणी समितिको बैठक आज बस्दैछ । नयाँ सत्ता समीकरणको चक्कर चलिरहँदा जसपाले संसदीय दलको नेता र उपनेता छनौट गर्न लागेको हो ।

बैठकमा नयाँ सरकारका लागि कुन दलसँग गठबन्धन गर्ने भन्ने समेत तय हुने बताईएको छ । समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टीबीच गत वैशाखमा एकीकरणपछि जसपा बनेपनि एकीकृत दलको नेता र उपनेता छनोट भएको छैन । अध्यक्षमध्येका महन्थ ठाकुरलाई दलको नेता चयन गर्ने तयारी जसपाको छ । उनी पार्टीका अध्यक्षमध्येका एक हुन् ।

नेकपा विभाजित भएपछि सत्ता समीकरणका लागि जसपा प्रतिनिधिसभाको निर्णायक दल भएको छ । केपी ओली र कांग्रेस माओवादी दुबैको समिकरणका लागि जसपा आवश्यक हुन्छ ।

सत्ता समीकरणबारे निर्णय लिनुअघि आफ्ना निलम्बित सांसद रेशम चौधरीलगायतका मधेस र थरुहट आन्दोलनका क्रममा पक्राउ परेका नेता–कार्यकर्ताको रिहाइ, मुद्दा फिर्ता, संविधान संशोधन र लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्ने सुनिश्चित हुनुपर्ने मागमा जसपाभित्र एकमत छ ।

तर, माग पूरा गर्न तयार भए ओलीलाई नै स्वीकारेर अघि बढ्न सकिने पक्षमा महन्थ ठाकुर र राजेन्द्र महतो छन् । उपेन्द्र यादव र बाबुराम भट्टराई ओलीले सत्ताको नेतृत्व गर्ने नैतिक हैसियत गुमाइसकेको र केही माग पूरा गरिदिए भने पनि धन्यवाद दिएर उनलाई बिदा गर्नुपर्ने पक्षमा छन् ।

Leave A Reply

Your email address will not be published.