अब त्यस्तो कहिल्यै नहोस्

0

गएको बिहीबार जापानको हिरोसिमा नगरमा उपस्थित भएका जापानी नागरिकले करिब ७० वर्षअघिको घाउमा मलम लगाउने प्रयास गरे । कतिपय उसैबेलाको घाउ लिएर उपस्थित थिए भने कतिले त्यस समयमा ज्यान गुमाएका आफन्तहरुको स्मरण गरिरहेका थिए । उनीहरु सबैको एकमात्र पुकार थियो– अब त्यस्तो कहिल्यै नहोस् ।

जापानको हिरोसिमा सहरमा आजभन्दा सत्तरी वर्ष पहिला भएको बम हमलाको स्मरण गरिएको हो । सन् १९४५ को अगष्ट ६ का दिन जापानको हिरोसिमामा अमेरिकाले बम हमला गरेको थियो । सो हमलामा परी कम्तीमा पनि एक लाख ४० हजार व्यक्तिको ज्यान गएको अनुमान गरिएको छ ।

उक्त दिनको विनाशको स्मरण गर्दै बिहीबार दशौँ हजार जापानी नागरिक हिरोसिमा नगरमा जम्मा भएका थिए । सोही आक्रमणबाट घाइते भएका एकजना ९० वर्षीय चुबोकीले भन्नुभयो– म किन बाँचिरहेको हो मलाई नै थाहा छैन, तर जति ती दिनहरु सम्झियो त्यति नै धेरै पीडा हुन्छ ।

उहाँले त्यसो भनिरहँदा बम खसालिएको सो हिरोसिमा नगरमा निर्मित सङ्ग्रहालय परिसरमा उपस्थित कैयौँ व्यक्ति भावुक बनेका थिए । चुबोकुजस्तै अरु पनि सो समारोहमा कैयौँ घाइते उपस्थित थिए । उनीहरुले पनि गहभारी आँसुपार्दै अब त्यस्तो कसैले नगरोस् भनी कामना गरेका थिए ।

साथै सो उक्त बम विस्फोटमा परी ज्यान गुमाएका नागरिकको स्मरणमा सङ्ग्रहालय परिसरमा निर्माण गरिएको स्तुपमा उनीहरुका आफन्तले निकै भावुक भएर माल्यार्पण गरिरहेका थिए । त्यस समारोहमा उपस्थित भएका नागरिकलाई लक्ष्यगरी त्यस समयका दृश्यहरु देखाइएपछि त झन नागरिकले मन थाम्नै सकेका थिएनन् ।

उनीहरुले यस दिनलाई एक दुखद् दिनका रुपमा स्मरण गरेका थिए । उनीहरुले यस्तो विनाशकारी दिन जापानमात्र नभई संसारमा नै कहिल्यै नआयोस् भन्ने कल्पना पनि गरेका बताइएको छ । सन् १९४५ मा आजकै दिन बिहान ठीक ८ः१५ बजे जापानको हिरोसिमामा नगरमा अमेरिकी युद्धक विमानले विनाशकारी बम खसालेको थियो ।

बिहानको समयमा जापानका दशौँ हजार नागरिक विद्यालयको प्रार्थनामा थिएभने सर्वसाधारण नागरिक सामान्य जिवनका साथ कार्यालयको लागि तयारीमा थिए । सोही समयमा अकस्मात् खसालिएको बमको असरका कारण दशौँ हजार नागरिक मारिएका थिए । तर त्यसमा परी मारिएका नागरिकको यकिन तथ्याङ्क भने अझै पनि भेटिँदैन ।

हिरोसिमा शान्ति सङ्ग्रहालयमा बिहीबार बिहान सवा ८ बजे एक विशेष प्रकारको घन्टा बजाइयो र त्यस समयमा सो स्थानमा उपस्थित नागरिकले मौन धारण गरी सो दिनको स्मरण गरे । सो शान्ति सङ्ग्रहालयको परिसरमा रहेको पार्कमा बालबालिका, बृद्धबृद्धा, उक्त हमलाबाट बचेका नागरिकका साथै विश्वका करिब एक सय देशका प्रतिनिधि सो कार्यक्रममा सहभागी थिए ।

उनीहरुले अब संसारमा यस्तो नरसंहारकारी घटना कहिल्यै नदोहोरियोस भनेर कामना पनि गरेका थिए । उनीहरूले संसारमा हतियारको होडबाजीका कारण हुनसक्ने यस्तो विनाशको शिकार अब कोही नबनुन् भनेर कामना पनि गरेका थिए ।

आजभन्दा ७० वर्षअघि दोस्रो विश्वयुद्धताका सन् १९४५ का अगस्त ६ र ९ का दिन जापानका हिरोसिमा र नागासाकी नगरमा संयुक्त राज्य अमेरिकाले दुई अणुबम खसायो । ‘लिटिल ब्वाइ’ र ‘फ्याट म्यान’ नाम दिइएका दुई बम विस्फोटबाट हिरोसिमामा र नागासाकीमा गरी करिब एक लाख ४० हजार नागरिकले तत्कालै ज्यान गुमाएका थिए । यस बमको असरले पछि कति नागरिक मरे भन्ने कुराको यकिन तथ्याङ्क कतै भेटिँदैन ।

उक्त घटना भएको पाँच वर्षभित्र दुवै नगरमा विकिरणबाट प्रभावित थप एक लाख चार हजार नागरिकको मृत्यु भयो । अमेरिकाविरुद्ध युद्ध लडेको जापानले यस अवधि र युद्धपश्चात् आफ्ना करिब दुई लाख पचास हजार नागरिकको ज्यान गुमायो । तत्कालीन अवस्थामा योभन्दा बढी सङ्ख्याका जापानी विकिरणबाट उत्पन्न विभिन्न रोगका कारण अङ्गभङ्ग भई बाच्न विवश भए । युद्धकालमा विकिरणबाट प्रभावित कतिपय जापानी तथा तिनका सन्तान समेत अनेक रोगबाट पीडित छन् ।

हिरोसिमा नगरमा खसालिएको बम, २० हजार टन टीएनटी बराबरको थियो । उक्त बममा युरेनियम(२३५ नामक रासायनिक तत्व प्रयोग गरिएको थियो र त्यसलाई ‘लिटिल ब्वाइ’ भन्ने नाम दिइएको थियो । १० फिट लम्बाइको यस पारमाणबिक बमलाई इनोला गे उपनाम दिइएको बी(२९ सुपर फोरट्रेस बमवर्षक विमानको बाहिरी भागमा झुन्ड्याएको थियो ।

जापानबाट एक हजार पाँच सय माइल सुदूर दक्षिणमा पर्ने उत्तरी प्रशान्त महासागरको मेरियाना द्वीपमा अवस्थित वायुसैनिक केन्द्रबाट ६ अगस्त १९४५, सोमबारका दिन स्थानीय समय अनुसार बिहान ०२ः४५ बजे १२ जना चालकको दलसहित उक्त बमवर्षक विमान गोप्य आक्रमणका लागि प्रस्थान गरेको थियो ।

पूर्वनिर्धारित योजना र कार्यक्रमअनुसार उक्त बमवर्षक विमान स्थानीय समयअनुसार बिहान ०८ः१५ बजे हिरोसिमा नगरमाथिको आकाशमा पुग्यो । त्यतिखेर हिरोसिमा नगरको मौसम अत्यन्त सफा थियो । हिरोसिमा नगरको आइओइ नदी माथिको पुललाई लक्ष गरी चालकदलले बम खसाइदिए । उक्त नगरबाट एक हजार नौ सय फिटमाथि आकासमा ठूलो आवाजका साथ उक्त बम विस्फोट भयो ।

नब्बे हजार घरधुरी र तीन लाख ५० हजार जनसङ्ख्या रहेको नगरमा विस्फोटस्थलको तीन माइल व्यासक्षेत्रभित्रका दुई तिहाइ भूभाग अर्थात् ६० हजार घरधुरीसहित बालीनाली, उद्योग कलकारखानालगायतका भौतिक र प्राकृतिक संरचना आगोका लप्कामा परी दुई मिनेटभित्रै समूल नष्ट भए । महिला तथा अबोध बालबालिकासहित करिब ७० हजार निर्दोष नागरिक तत्कालै सखाप भए ।

सर्वत्र आगो बलिरह्यो र ज्वालामुखी विस्फोट भएका बखत निस्कने लाभाजस्ता लेदो नगरका सडकभरि खोलाझैँ बग्नथाले । छानाका टायल, ढुङ्गा, माटा, जस्तापातालगायतका संरचना सबै पग्लेर बग्नथाले । माथिसम्म फैलिएको बाक्लो कालो धुँवाले दुई मिनेट अघिसम्म झलमल्ल घाम लागेको उज्यालो नगर अन्धकारमय बन्यो । सडक, ढल, चौर, जहाँतहीँ डढेको मानव शवको थुप्रो लाग्यो । बाँचेकाहरू सबै आगाले डढेका, काला, कपाल र शरीरका अन्य भागमा रौँविहीन नाङ्गा, अन्धअपाङ्ग, कुप्रा, कङ्काल, ख्याक वा भूतप्रेत जस्ता देखिए ।

प्लुटोनियम(२३९ भन्ने रासायनिक तत्व प्रयोग गरी निर्माण गरिएको बम नागासाकीमा खसालिएको थियो । विश्लेषक तथा अन्वेषकहरूका अनुसार युद्धबाट अछुत जापानका हिरोसिमा, कोकुरा, नागासाकी, क्योटो र निगाता नगरहरूलाई लक्ष गरी भीषण आक्रमण गर्ने गोप्य योजना अमेरिकाले बनाएको थियो ।

विगतका धेरै वर्षमा गरिए झैँ बम खसालिएका दुवै स्थानमा यसपालि पनि हजारौँ जापानी नागरिक जम्मा भई ७० वर्षअघिको दुःखद नरसंहारको स्मरण गर्दै मारिएका हजारौँ नागरिकप्रति श्रद्धाञ्जलि अर्पण गरेका छन् । उनीहरूले विश्वका कुनै पनि नागरिकले आगामी दिनमा त्यस्तो भयावह नरसंहार सहनु नपरोस् भन्ने कामना गरेका छन् ।

जापानमा आणविक केन्द्र रहेका कारण आज पनि नागरिकहरूको मष्तिष्कबाट ती सन्त्रासमय दिनहरू नहटिसकेकाले विश्वलाई आणविक शक्तिमुक्त बनाउन सो समारोहमा सबैसँग आग्रह गरिएको छ । जापानमा हाल आणविक भट्टीको पुनः स्थापना गर्न नहुने विषयमा नागरिकले आवाज उठाइरहेका छन् । भूकम्पका कारण त्यहाँको आणविक भट्टीमा क्षतिपुगेपछि नागरिकमा पुनः भय छाएको छ र अहिले पनि उनीहरुको एउटै आवाज छ– अब यस्तो कहिल्यै र कहिँकतै पनि नदोहोरियोस ।
मोहिनी मिश्र रिसाल

Leave A Reply

Your email address will not be published.