काठमाडौं : गायिका एवं राष्ट्रियसभा सदस्य कोमल वलीले विघटित नेकपाका नेता रघुजी पन्तविरुद्ध मानहानीको मुद्दा दायर गरेकी छन् ।
केहीदिन अघि पन्तले सार्वजनिक रुपमा आफूविरुद्ध गरेको टिप्पणीलाई लिएर वलीले मंगलबार काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरेकी हुन् ।
उनले मुलुकी अपराध संहिता २०७४ को दफा ३०५, ३०६, ३०७ को आधारमा आफूलाई अन्याय परेको भन्दै मुद्दा दायर गरेकी हुन् ।
पन्तले फागुन १५ गते एक कार्यक्रममा वलीलाई सारी सरक्क सुर्काएर पिँडुला देखाएको भरमा सांसद बनेको आरोप लगाएका थिए । पन्तको अभिव्यक्तिबाट आफ्नो मात्र नभएर सबै महिला नेतृहरुको मानमर्दन भएको वलीको उजुरीमा उल्लेख छ ।