नेकपा नामसम्बन्धी सर्वोच्चको फैसलामा ओलीसहित कसले के भने ?

0

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतको फैसलालाई आफूले सम्मान गर्ने बताएका छन् । आइतबार संसद् भवनबाट बाहिरिने क्रममा प्रधानमन्त्री ओलीले ऋषि कट्टेलको पार्टीलाई नेकपा नामको आधिकारिकता प्रदान गर्ने सर्वोच्चको फैसला मान्ने र कार्यान्वयन गर्ने बताएका हुन् ।

प्रधानमन्त्री ओली बैठक शुरू नहुँदै संसद् भवनबाट बाहिरिएका थिए । सो क्रममा संक्षिप्त प्रतिक्रिया दिँदै उनले आफूले फैसलाको पूर्णपाठ हेर्न भने बाँकी रहेको बताए ।

आइतबार सर्वोच्चले ऋषि कट्टेलको पार्टीलाई नेकपा नामको आधिकारिकता प्रदान गर्दै साविक एमाले र माओवादी केन्द्रलाई ब्युँताइदिएको छ ।

प्रचण्डले के भने ?

फैसलाबारे प्रतिक्रिया दिँदै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सर्वोच्च अदालतको फैसला आफूहरुले अपेक्षा गरेभन्दा भिन्न आएको बताए ।

अध्यक्ष प्रचण्डले फैसला नहेरी थप टिप्पणी नगर्ने तर्क गरे । अदालतको फैसलाको विवरण विस्तृतरुपमा अध्ययन गरेपछि मात्र थप प्रतिक्रिया दिने उनको भनाइ थियो ।

देव गुरुङको असन्तुष्टि

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहका नेता देव गुरुङले दलसम्बन्धी सर्वोच्च अदालतको निर्णय बेठिक समयमा आएको बताए ।

आइतबार संसद सचिवालयमा सञ्चारकर्मीसंग कुरा गर्दै गुरुङले पूर्व नेकपा एमाले र पूर्व नेकपा माओवादी केन्द्रलाई ब्यूँताइ यथास्थानमा गयो भन्न नमिल्ने तर्क गरे ।

पार्टी एकीकरणपछि ३ वर्षमा धेरै कामहरु भएको र त्यसलाई सरकारले पनि स्वामित्वमा लिएकाले नाम परिवर्तन हुँदैमा एकीकरणका सबै अवशेष मेटिन नसक्ने उनको भनाइ थियो ।

फैसलालाई सम्मान गर्छौं : मन्त्री पौडेल

नेकपा ओली समूहका महासचिव एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सर्वोच्चको फैसलालाई सम्मान गर्ने बताए । कानुनी र संवैधानिक आधार मानेर सर्वोच्च अदालतले फैसला लिएको बताउँदै अर्थमन्त्री पौडेलले आफुहरुको हार भएपनि अदालतको निर्णयलाई सम्मान गर्ने बताए ।

ब्युँतियो पूर्व एमाले र पूर्व माओवादी

सर्वोच्चको फैसलाले ओली–प्रचण्ड नेतृत्वको नेकपा खारेज गरेसँगै अव उनीहरु पूर्व एमाले या पूर्व माओवादीको अवस्थामै फर्किने वा पुनः प्रक्रिया पुर्‍याएर पार्टी एकता गर्ने विकल्प रोज्न बाध्य भएका छन् ।

२०७४ सालमा भएको निर्वाचनमा चुनावी गठबन्धन गरेर यी दुई दलले प्रतिनिधि सभामा १७४ सिट जितेका थिए ।  जसमा पूर्व एमालेले प्रत्यक्षतर्फ ८० सिट जितेको थियो भने समानुपातिकतर्फ ४१ सिट जितेको थियो ।

जसअनुसार पूर्व एमालेको जम्मा सिट सङ्ख्या अब १२१ कायम हुने देखिन्छ  भने नेकपा माओवादी केन्द्रको प्रत्यक्षतर्फ ३६ र समानुपातिकतर्फ १७ सिट जितेकाले जम्मा ५३ सिट हुने देखिन्छ ।

Leave A Reply

Your email address will not be published.