सरकारसँगको तीन बुँदे सहमती पालना गर्न प्रतिबद्ध छौं : विप्लव

0

काठमाडौं : नेकाप विप्लव समूहका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले सरकारसँग गरेको तीन बुँदे सहमती पालना गर्न आफुहरु प्रतिबद्ध रहेको बताएका छन् ।

शुक्रबार राष्ट्रिय सभागृहमा नेपाल सरकार र नेपाल कम्युनिष्ट पार्टीबीच भएको सहमतिमा हस्ताक्षर समारोहलाई सम्बोधन गर्दै महासचिव विप्लवले सरकारसँगको सहमति पालना गर्न आफ्नो पार्टी प्रतिबद्ध रहेको बताएका हुन् ।

उनले आफ्नो मान्यता र देशमाथि हस्तक्षेप भएको महसुस हुँदा कम्युनिष्टहरुले बिद्रोह गर्ने र आफ्नो भूमिका पूरा गरेको स्थितिमा शान्तिको दुत बन्ने बताए । देशलाई आत्मनिर्भर, स्वाधिन र सुन्दर बनाउने सपनासहित सरकारसँग सहमति गरेको विप्लवको भनाइ छ ।

विप्लवले देशको भविष्यको बारेमा स्वतन्त्रतापूर्वक कदम चाल्नका लागि जनमतमा जानुपर्ने बताए । उनले कुन विषयमा जनमतमा जाने विषय भने खुलाएनन् । विप्लवले विश्वमा युद्धको अन्त्य कसैले गरे कम्युनिष्टले मात्रै गर्ने र कम्युनिष्ट विजयी भए संसारका सबै हतियार र युद्धको अन्त्य हुने दाबी पनि गरे ।

महासचिव विप्लवले शहिदले देखेको परिवर्तनको सपना पुरा गर्न आफुहरु प्रतिबद्ध रहेको बताए । उनले सरकारसँगको सहमतिपछि आफ्ना नेता कार्यकर्ता जेलबाट छुट्नेमा विश्वास व्यक्त गरे । उनले सबैसँग सहकार्य र हातेमालो गरेर अगाडि बढ्न तयार रहेको स्पष्ट पारे । विप्लव दुई वर्ष भन्दा बढी समयपछि शुक्रबार काठमाडौंमा सार्वजनिक भएका हुन् ।

Leave A Reply

Your email address will not be published.