राष्ट्रसंघद्वारा नेपाललाई अति कम विकसित राष्ट्रबाट स्तरोन्नति गर्न सिफारिस

0

काठमाडौं : संयुक्त राष्ट्रसंघको विकास नीतिसम्बन्धी समितिले नेपाललाई अति कम विकसित राष्ट्रबाट स्तरोन्नति गर्न सिफारिस गरेको छ ।

फागुन १० देखि फागुन १४ सम्म बसेको संयुक्त राष्ट्रसंघको कमिटी फर डेभलपमेन्ट पोलिसीको बैठकमा नेपालले स्तरोन्नतिका लागि तोकिएका मापदण्ड पूरा गरेको भन्दै स्तरोन्नतिको सिफारिस गरेको हो ।

समितिको यो सिफारिस राष्ट्रसंघकै आर्थिक तथा सामाजिक परिषद्ले अनुमोदन गर्नुपर्छ । त्यसपछि अर्को वर्ष बस्ने राष्ट्रसंघको महासभामा यसलाई ‘नोट’ गरिनेछ ।

पाँच वर्षको तयारी अवधि राखिएको हुँदा सन् २०२६ देखि सो स्तरोन्नति कार्यान्वयनमा आउने राष्ट्रसंघले जनाएको छ । त्यतिवेलासम्म नेपालले अति कम विकसित राष्ट्रको रुपमा पाउने सहायता निरन्तर पाउनेछ ।

नेपालको पछिल्लो तीन वर्षको मूल्यांकन गरेर राष्ट्रसंघले यस्तो सिफारिस गरेको हो । राष्ट्रसंघका लागि न्यूयोर्कस्थित नेपालको स्थायी नियोगका अनुसार नेपाल दुईवटा मापदण्ड पुरा गरेर स्तरोन्नतिका लागि छानिएको हो ।

प्रतिव्यक्ति कूल राष्ट्रिय आय, मानव मूल्य सूचक र आर्थिक तथा वातावरणीय जोखिम सूचक मध्ये नेपालले पछिल्ला दुईमा मापदण्ड पूरा गरेको हो ।

कोरोनका कारण नेपाल सरकारको अनुरोधमा राष्ट्रसंघले तीन वर्षे कार्यान्वयन अवधिलाई पाँच वर्ष पुर्‍याएको हो ।

राष्ट्रसंघीय समितिले यसपटक नेपालबाहेक बंगलादेश र लाओ जनगणतान्त्रिकलाई पनि स्तरोन्नतिका लागि सिफारिस गरेको छ ।

Leave A Reply

Your email address will not be published.