मेलम्चीको सुरुङ पुनः परीक्षणको काम शुरु

0

काठमाडौं : बहुप्रतीक्षित मेलम्ची खानेपानीको सुरुङमा पानी पठाउने कार्यको शुभारम्भ भएको छ । सुरुङमा पानी हालेको १० दिनमा नै पहिलो परीक्षण असफल भएपछि आयोजनाको मर्मतपछि सुरुङमा दोस्रो पटक पानी पठाउने कार्यको शुभारम्भ गरिएको हो ।

खानेपानी मन्त्री मणि थापा र शहरी विकास राज्य मन्त्री रामबीर मानन्धरले सोमबार संयुक्त रूपमा स्वीच थिचेर सुरुङमा पानी पठाउने कार्यको शुभारम्भ गरेका हुन् ।

सो क्रममा मन्त्री थापाले मेलम्चीको सफलता एउटा आयोजनाको मात्रै सफलता नभइ सिंगो मुलुकका लागि विकासमा नयाँ प्रविधिको सफलताको पहिलो उदाहरण भएको बताए ।

साढे २६ किलोमिटर सुरुङमा समस्या नआए अस्थायी रुपमा काठमाडौं पानी पुग्न २ महिना लाग्नेछ । हाल २ सय ६० लिटर प्रति सेकेन्डका दरले पानी सुरुङमा हालिएको आयोजनाका प्राबिधिकहरुले जानकारी दिएका छन् ।

सुरुङमा पानी भरिएपछि करिब १० दिन यतिकै राखिनेछ । त्यसपछि प्रतिसेकेन्ड २६० लिटरकै दरमा १५ देखि २० दिन लगाएर बाहिर पानी फालेर सुरुङ खाली गरिनेछ । पानी सबै फालिसकेपछि करिव ७ दिन लगाएर सुरुङको गुणस्तर पुनः परीक्षण गरिनेछ ।

Leave A Reply

Your email address will not be published.