तेस्रो चरणको खोप अभियान आजबाट सकिँदै, तीन लाख ४० हजारले लगाए खोप

0

काठमाडौं : कोरोना भाइरसविरुद्धको पहिलो चरणको खोप अभियान अन्तर्गत तेस्रो प्राथमिकतामा परेकाहरुलाई खोप लगाउने कार्य आजबाट सकिँदैछ । गत आइतबारबाट तेस्रो चरणको खोप अभियान शुरु भएको थियो ।

अभियान अन्तर्गत पत्रकार, पालिकाका जनप्रतिनिधिहरु, सीमा सुरक्षा पोस्टमा खटिएका सुरक्षाकर्मी तथा पहिले छुटेका स्वास्थ्यकर्मी, स्वास्थ्य स्वयंसेवक, एम्बुलेन्स तथा शववाहन चालकहरु, शव व्यवस्थापनमा खटिएका सुरक्षाकर्मीलाई खोप लगाइएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

माघ १४ गते पहिलो र ३० गते दोस्रो प्राथमिकतामा परेकाहरुलाई खोप लगाइएको थियो । पहिलो चरणको पहिलो प्राथमिकतामा अग्रपंक्तिमा रहेर काम गर्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, एम्बुलेन्स, शववाहन चालक, कारागारका कर्मचारी, कैदी, सफाइकर्मीलाई खोप लगाइएको थियो ।

यस्तै दोस्रो प्राथमिकतामा पत्रकार, दूतावासका कर्मचारीहरु र राष्ट्रसंघको एजेन्सीमा कार्यरत कर्मचारीलाई खोप लगाइएको थियो ।

भारतीय सिरम इन्स्टिच्युटले उत्पादन गरेको दश लाख मात्राको कोभिशिल्ड खोप भारत सरकारले अनुदानमा दिएपछि माघ १४ गतेदेखि नेपालमा खोप अभियान शुरु भएको हो ।

अहिलेसम्म तीन लाख ४० हजारभन्दा धेरैले खोप लगाइसकेका स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयले फागुन २३ गतेदेखि ६० वर्षमाथिका नागरिकलाई खोप लगाउने तयारी गरेको छ ।

Leave A Reply

Your email address will not be published.