जस्तोसुकै परिस्थिति आए पनि पछि नहट्न प्रचण्ड-माधव समूहकाे केन्द्रीय सदस्यहरुलाई निर्देशन

0

काठमाडौं : नेकपा प्रचण्ड-माधव समूहले जस्तोसुकै परिस्थिति आए पनि पछि नहट्न र तयारी अवस्थामा रहन पार्टी पङ्क्तिलाई निर्देशन दिएको छ । 

शुक्रबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको सो समूहको केन्द्रीय समिति बैठकले निर्वाचन आयोग र अदालतबाट जस्तो पनि फैसला आउन सक्ने भन्दै परिस्थितिका आधारमा तयार रहन पार्टी पङ्क्तिलाई निर्देशन दिएको हो ।

त्यस्तै बैठकले पार्टीद्वारा घोषित चौथो चरणको संघर्षका कार्यक्रमलाई सफल पार्नका लागि पनि निर्देशन दिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

बैठकमा अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव कुमार नेपालले संगाठनिक एकीकरणको काम केही दिनभित्रै सक्ने बताएको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

त्यस्तै प्रवक्ता श्रेष्ठले राजनीतिक परिवर्तनलाई जोगाउन नेकपा प्रतिवद्ध रहेको बताए । श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओली फाँसीवादी चरित्रअनुसार अगाडि बढेको आरोप लगाउँदै छिट्टै पतन हुने बताए ।

श्रेष्ठले प्रदेश नम्बर २ का प्रमुख परिवर्तन प्रधानमन्त्रीको दमनकारी नीति भएको टिप्पणी गरे । आयोगले नेकपाको आधिकारिकताबारे प्रस्ट्याउन ढिलाइ गरिरहेको भन्दै सन्तुष्ट हुन नसकेको उनको भनाइ थियो ।

प्रतिनिधिसभा विघटनको विषय अदालतमा अन्तिम चरणमा पुगेको भन्ने खबर आएको र अब कसरी अघि बढ्ने भन्ने बारेमा बैठक केन्द्रित रहेको उनले बताए । बैठकमा आएका केन्द्रीय सदस्यहरूले पार्टीको परिचयपत्र र नागरिकतासमेत बोकेर आएका थिए ।

निर्वाचन आयोगमा आवश्यक परे सशरीर उपस्थित हुनुपर्ने भएकाले केही दिन केन्द्रीय सदस्यहरूलाई उपत्यकाबाहिर नजान समेत भनिएको नेताहरुले बताएका छन् ।

Leave A Reply

Your email address will not be published.