सरस्वतीको पूजाआराधना गरी श्रीपञ्चमी मनाइँदै

0

काठमाडौं : प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमी विद्याकी अधिष्ठात्रीदेवी सरस्वतीको पूजाराधना गरी आज देशभर मनाइँदैछ ।

वसन्त पञ्चमीका दिन सरस्वतीको पूजा गरे विद्या बुद्धि बढ्ने विश्वास छ । देशभरका सरस्वती मन्दिरमा पूजाआराधना गर्न श्रद्धालुको भीड लागेको छ ।

हनुमानढोका दरबारस्थित नासलचोकमा राष्ट्रपति विद्यादेवी भण्डारीले वसन्त पञ्चमीका अवसरमा वसन्त श्रवण गर्ने कार्यक्रम छ । परापूर्वकालदेखि वसन्त पञ्चमीका दिन राष्ट्राध्यक्ष एवं सरकार प्रमुखलगायत नेपाल सरकारका विशिष्ट व्यक्तिबाट वसन्त श्रवण गर्ने परम्परा छ ।

विद्यालय नपठाइएका साना बालबालिकालाई आजकै दिनदेखि अक्षरारम्भ गराउने चलन छ । यस दिन लेखपढ गर्न सिकाए राम्रो विद्या आउने जनविश्वास छ । ज्ञान, बुद्धि र विवेक प्राप्तिका लागि विद्याकी अधिष्ठात्री देवीका रुपमा सरस्वतीको पूजाआजा गरिन्छ ।

हिन्दूको धार्मिकग्रन्थ पुराणमा उल्लेख गरिएनुसार, माघ शुक्ल पञ्चमी तिथिका दिन ब्रह्माले सृष्टिमा देवी सरस्वतीलाई आह्वान गरेपछि सरस्वती अवतरित हुनुभएको विश्वास गरिन्छ।

यस दिन विद्यार्थी, कर्मचारीका साथै कलमजीवीले यस पर्वलाई उत्सवको रुपमा मनाउने गर्छन् । शिशुको अन्नप्रासनसमेत विधिपूर्वक गराइन्छ । यस दिनमा विवाह, नयाँ भवनमा बासलगायतका शुभकार्यका लागि साइत हेर्नु नपर्ने मान्यता रहेको छ ।

यस अवसरमा तराई मधेसका विभिन्न शिक्षण संस्थाका साथै जनकपुरका टोलटोलमा देवी सरस्वतीको कलात्मक मूर्ति स्थापित गरी उल्लासमय वातावरणमा पूजापाठ गरिन्छ ।

विद्यार्थी बिहानै स्नान गरी आ–आफ्ना पुस्तक, कापी र कलम माता सरस्वतीको तस्वीर नजिक राखेर पूजापाठ गर्ने गर्छन् । सरस्वतीको पूजाको लागि प्रसादमा बयर, केरा, सुन्तला र बेसनले बनाइएका बुनियाका साथै विभिन्न प्रकार फलफूल र मिठाई पनि चढाउने गरिन्छ ।

Leave A Reply

Your email address will not be published.