सिंहदरबारको प्रधानमन्त्रीले सोमबार उद्घाटन गर्ने

0

विसं २०७२ बैशाख १२ को विनाशकारी भूकम्पबाट क्षतिग्रस्त प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय रहेको सिंहदरबारको पुनर्निर्माण कार्य सम्पन्न भएको छ ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणद्वारा पुनर्निर्माण सम्पन्न पश्चिमबाहेकका तीनवटा मोहडाको प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार उ्दघाटन गर्ने कार्यक्रम तय गरिएको छ ।

उद्घाटनपछि प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय त्यही भवनमा सर्नेछ । भूकम्पले भवन क्षतिग्रस्त भएपछि देशको प्रमुख कार्यकारीको कार्यालय सिंहदरबार परिसरकै तत्कालीन स्थानीय विकास मन्त्रालय रहेको भवनमा सारिएको थियो ।

No description available.

प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले प्रवलीकरणमार्फत् भवनलाई भूकम्पबाट सुरक्षित रुपमा पुनर्निर्माण गरिएको बताए ।

“हामीले मौलिक संरचना तथा शैलीलाई कायम राखी भूकम्प प्रतिरोधी हुनेगरी पुनर्निर्माण गरेका छौं । साथै, अन्तर्राष्ट्रिय स्तरको सेवा सुविधा रहनेगरी हालको प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयको मौजुदा संगठन संरचनाअनुरुप कार्यकक्ष तथा बैठक कक्षहरु निर्माण गरिएको छ ।”

पुनर्निर्माण सम्पन्न भई उद्घाटन हुन लागेका मोहडाहरु वि.सं. २०३० को आगलागीमा परेपछि वि.सं. २०३७ सालमा नयाँ प्रविधि तथा आधुनिक निर्माण सामग्रीहरु प्रयोग गरी पुरानै स्वरुपमा पुनर्निर्माण गरिएको थियो ।

भौतिक प्रवलीकरणपछि अत्याधुनिक सुविधा सम्पन्न बनाउन भवनमा आपतकालीन तथा अग्नी नियन्त्रक संयन्त्रका अलावा कार्यालयमा २४ सै घन्टा उपलब्ध हुने ताजा हावासहितको वातानुकुलन प्रणाली जडान गरिएको छ ।

No description available.

सिंहदरबार पुनर्निर्माणको कार्यान्वयनको गराइरहेको प्राधिकरण मातहतको केन्द्रीय आयोजना कार्यान्वयन इकाई (भवन) का आयोजना निर्देशक श्यामकिशोर सिंहका अनुसार दुई चरणमा ठेक्का व्यवस्थापनमार्फत् यी मोहडाको पुनर्निर्माणमा हालसम्म भ्याटबाहेक ८७ करोड रुपैयाँ खर्च भएको छ ।

सिंहले उत्तर, दक्षिण र पुर्व खण्डलाई नयाँ प्रविधि तथा आधुनिक निर्माण सामग्रीहरु जस्तै सिमेन्ट, बालुवा, छड, ‘बोण्डिङ केमिकल’ हरु प्रयोग गरी पुरानै स्वरुप नबिग्रिने गरी प्रवलीकरण गरिएको जानकारी दिए । निर्माण कम्पनी शर्मा-न्यू टेक्निकलले प्रथम चरणको काम गरेको हो भने शर्मा-माइक्रोटेक-न्यू टेक्निकल जे.भी. ले दोस्रो चरणको काम गरेको हो ।

पश्चिम मोहडाको प्रवलीकरण जारी

भूकम्पबाट बचेको पश्चिम मोहडाको पुरानै प्रविधि तथा निर्माण सामग्रीहरु प्रयोग गरी प्रवलीकरण भइरहेको छ । यो भागलाई भत्काएर नयाँ बनाउने वा प्रवलीकरण गरी पुनर्निर्माण गर्ने विषयमा आवश्यक अध्ययन तथा विज्ञहरुबीच छलफलले समय लिएको थियो । सम्पदा संरक्षणको दृष्टिकोणले पुरानै शैली र स्वरुपमै बचाउन प्रवलीकरण नै गर्न उपर्युक्त भएको निश्कर्ष आएपछि राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणबाट प्रवलीकरण गर्ने कार्य भइरहेको छ ।

No description available.

२०७६ असोज २७ बाट सुरु भएको पश्चिम मोहडाको पुनर्निर्माण कार्यको हालसम्म ५० प्रतिशत प्रगति भइसकेको छ । भ्याट बाहेक करिब ४६ करोड ८८ लाख रुपैयाँमा शर्मा-गौरी पार्वती-न्यू टेक्निकल जे. भी. ले प्रवलीकरण गरिरहेका छ ।

Leave A Reply

Your email address will not be published.