बृहत् नागरिक आन्दोलनको महिला मार्च

0

काठमाडौं : महिलामाथिका हिंसा र विभेदविरूद्धका घटनाको विरोधमा बृहत नागरिक आन्दोलनको अगुवाईमा महिला मार्च गरिएको छ । 

बसन्तपुरबाट शुरू भएको मार्च भद्रकाली पुगेर सभामा परिणत भएको थियो । मार्चमा कालो कपडा लगाएर महिलाहरु सहभागी भएका थिए ।

सहभागीहरुले प्रतिकात्मक शव र मलामीसहित र्‍याली निकालेका थिए । टाउकोमा सेतो कपडा बेरेर सेतो धोती लगाएका केही युवाहरूले प्रतिकात्मक शवलाई बोकेर शवयात्रा गरेका थिए ।

मार्चमा सहभागीले ‘महिला हिंसा बन्द गर, बलात्कारीलाई सजाय दे, हत्यारा पहिचान गरेर कारबाही गर’ लेखिएका प्लेकार्ड बोकेका थिए । ‘प्रतिगमनविरुद्ध बृहत् नागरिक आन्दोलन’ समूहको ब्यानरमा महिला मार्च भएको हो ।

महिला मार्चमा सहभागीले हरेक दिन प्रतिगमन भएको भन्दै आक्रोश व्यक्त गरेका थिए । प्रतिनिधिसभा विघटन गरेर संविधान र लोकतन्त्रलाई धरापमा पारेको, बलात्कारी, हत्यारालाई कारवाही गर्न नसकेको भन्दै उनीहरूले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेका थिए ।

महिला मार्चसहितको विरोध प्रदर्शनमा विभिन्न राजनीतिक दलसँग आबद्ध महिला नेतृसँगै मानवअधिकार क्षेत्रमा क्रियाशील महिलाहरुको सहभागिता थियो ।

Leave A Reply

Your email address will not be published.