अदालतमा विचाराधीन मुद्दामा दवाब दिनु हुँदैन : देउवा

0

काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभा विघटनको विषय सर्वाेच्च अदालतमा विचाराधीन रहेकोले दवाब दिन नहुने बताएका छन् । पार्टीको आदिवासी जनजाति केन्द्रीय विभागले बिहीबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममाा सभापति देउवाले जुलुसमा नारा लगाएर अदालतलाई ‘यही गर’ भनेर दवाब दिन नमिल्ने बताएका हुन् ।

उनले भने, ‘अदालतमा मुद्दा छ, नारा लगाएर यही गर भन्न मिल्दैन, हामी त्यस्तो गर्दैनौं, जुलुसले हुने भए किन चाहियो अदालत ।’

सभापति देउवाले कांग्रेस निर्वाचनमा विश्वास गर्ने लोकतान्त्रिक पार्टी भएको बताउँदै संसद् पुनर्स्थापना र निर्वाचन दुवैका लागि तयार हुनुपर्ने धारणा व्यक्त गरे । आफूले जान्दाजान्दै हार्ने निर्वाचन पनि गराएको स्मरण गर्दै उनले दुई वर्षपछि भए पनि अहिले भए पनि मुलुकमा निर्वाचन हुने तर्क गरे ।

उनले भने, ‘दुई वर्षपछि भए पनि अहिले भए पनि मुलुकमा निर्वाचन हुन्छ, लोकतान्त्रिक पार्टी निर्वाचनका लागि सधैँ तयार हुनुपर्छ ।’

सभापति देउवाले पार्टीले गरेको समावेशी व्यवस्थाका बारेमा सबै समुदायको तल्लोस्तरमा पुगी सो बारेमा प्रचार गर्न र कांग्रेसको पक्षमा माहोल बनाउन नेता कार्यकर्तालाई निर्देशन समेत दिए ।

त्यस्तै कार्यक्रममा पार्टी उपभापति विमलेन्द्र निधिले संविधानको व्यवस्थाविपरीत खोसिएको प्रतिनिधिसभा पुनःप्राप्ति हुनुपर्ने उल्लेख गर्दै त्यसका लागि संसद् पुनर्स्थापना र निर्वाचन दुई बाटो रहेको बताए ।

Leave A Reply

Your email address will not be published.