रामकुमारी झाँक्री गिरफ्तार

0

काठमाडौं : नेकपा प्रचण्ड-माधव समूहकी नेतृ रामकुमारी झाँक्रीलाई प्रहरीले गिरफ्तार गरेको छ । महानगरीय अपराध महाशाखाको टोलीले झाँक्रीलाई उनकै घरबाट गिरफ्तार गरेको हो ।

राष्ट्रपति विद्यादेवी भण्डारीबारे दिएको अभिव्यक्तिलाई लिएर प्रहरीले झाँक्रीलाई गिरफ्तार गरेको हो ।

प्रहरीले नेतृ झाँक्रीलाई राज्यविरूद्धको कसुर गरेको भन्दै पक्राउ पुर्जी थमाएको थियो । पक्राउ पूर्जी बुझेसँगै नेतृ झाँक्रीले प्रहरीलाई गिरफ्तारी दिएकी हुन् । 

यसअघि महाशाखाले झाँक्रीलाई सोधपुछका लागि बोलाएको थियो, तर झाँक्री उपस्थित नभएपछि प्रहरी गिरफ्तार गर्न उनको घरमै पुगेको थियो । त्यसपश्चात नेतृ झाँक्रीले पक्राउ पूर्जी ल्याए आफु गिरफ्तारी दिन तयार रहेको बताएकी थिइन् ।

झाँक्रीको पक्राउको विरोधमा उनको निवासबाहिर नेकपा प्रचण्ड-माधव समूहका धेरै कार्यकर्ता भेला भएर सरकार र प्रहरी प्रशासनविरुद्ध नाराबाजी लगाएका थिए ।

गोरखाको एक कार्यक्रममा नेतृझाँक्रीले राष्ट्रपति विद्यादेवी भण्डारीबारे टिप्पणी गरेकी थिइन् । उनले गोरखामा नेकपा एमालेले मदन भण्डारीको हत्यापछि सेतो साडी लगाएर चुनावमा उठाउने जुन संस्कृति सुरू गरेको थियो त्यसको प्रतिउत्पादक विद्या भण्डारी भएको आरोप लगाएकी थिइन् ।

मदन भण्डारीको हत्यापछि तत्कालीन एमालेले २०५० सालमा विद्यादेवी भण्डारीलाई चुनाव लडाउनु भुल भएको झाँक्रीको भनाइ थियो । सोही टिप्पणीलाई लिएर नेकपा ओली निकट अखिल नेपाल महिला संघ ‘अनेमसंघ’ले गृहमन्त्रीलाई ज्ञापन पत्र बुझाउँदै कारवाहीको माग गरेको थियो ।

Leave A Reply

Your email address will not be published.