प्रचण्डको प्रश्न : केपीजी देख्नुभो सभा कस्तो हुन्छ ?, ओलीले निर्वाचन आयोगलाई धम्क्याए : नेपाल

0

काठमाडौं : नेकपा प्रचण्ड-माधव समुहले बुधबार राजधानीमा विरोधसभा गरेको छ । सभामा नेताहरुले प्रधानमन्त्रीले गरेको संसद विघटनलाई असंवैधानिक ठहर गर्दै जनभावनालाई सम्मान गर्न अदालत र निर्वाचन आयोगलाई चेतावनी समेत दिए ।

ओलीलाई प्रचण्डको काउन्टर !

नेकपा प्रचण्ड-माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वैशाखमा कुनै पनि हालतमा निर्वाचन नहुने ठोकुवा गरेका छन् । प्रतिनिधिसभा विघटनको विरोधमा भृकुटी मण्डपमा आयोजित सभालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले सरकारले चुनाव गर्नका लागि वैशाखमा तोकेको मिति केबल भ्रम छर्नका लागि मात्र भएको बताएका हुन् ।

प्रचण्डले प्रधानमन्त्री ओलीलाई ‘विरोध सभा कस्तो हुन्छ देख्नुभयो’ भन्दै प्रश्न पनि गरे । प्रधानमन्त्री ओलीले केही दिनअघि ‘सभा भनेको कस्तो हुन्छ माघ २३ गते हेर्नुहोस्’ भन्दै अभिव्यक्ति दिएका थिए ।

सोही अभिव्यक्ति जवाफ दिँदै प्रचण्डले भने, ‘केपीजी देख्नुभयो सभा भनेको कस्तो हुँदोरहेछ ? विरोध कस्तो हुँदो रहेछ देख्नुभयो ?’

बुधबारको सभामा करिब ५ लाख मानिस सहभागी भएको आफुलाई मेसेज आएको बताउँदै प्रचण्डले सभालाई सर्वोच्चका न्यायाधीशहरुले पनि देखेको हुनुपर्ने बताए ।

प्रचण्डले बुधबारको सभाले अदालतलाई पनि सहज भएको बताए । उनले, ‘संविधानको पक्षमा लोकतन्त्रको पक्षमा फैसला गर्न यो सभाले अदालतलाई सहज भएको छ ।’ 

प्रचण्डले ओली अझै पनि नसच्चिए सिंहदरबार र बालुवाटार घेर्न लाखौं जनता जम्मा पार्ने पनि चेतावनी दिए ।

ओलीको पाप कसैले धोईपखाली गर्न सक्दैन : अध्यक्ष नेपाल

त्यस्तै अर्का अध्यक्ष माधव नेपालले ओलीको पाप कसैले पनि धोईपखाली गर्न नसक्ने बताए । ओलीले संविधानको हत्या गरेपछि उनी पशुपति धाउन थालेपनि उनलाई पशुपतिनाथले समेत रक्षा गर्न नसक्ने उनको भनाइ थियो ।

उनले मदन भण्डारीको नाम जप्ने ओली अहिले पशुपतिको मन्त्र जप्नतिर लागेको टिप्पणी गरे ।  उनले भने, ‘केपी ओलीजी तपाइँ मदन भण्डारीको नाम जप्नुहुन्छ, त्यो नाम विर्सनु भएको छ । अब पशुपतिको मन्त्र जप्न थाल्नुभएको छ ।’

अध्यक्ष नेपालले ओलीले निर्वाचन आयोगलाई धम्क्याएकोसमेत आरोप लगाए । ओलीले आयोगमा पुगेर म नै पहिलो अध्यक्ष हुँ, आधिकारिकताको विवादमा पस्न पउँदैन भनेर संवैधानिक निकायलाई धम्क्याएको भन्दै उनले विरोध जनाएका हुन् ।

राजनीतिक दलसम्बन्धी ऐनको दफा ४४ मा एउटै पार्टीमा नाम, चिन्हबारे विवाद भएमा बहुमतको निर्णय स्वीकार्य हुन्छ प्रष्ट लेखिएको भन्दै अध्यक्ष नेपालले त्यसलाई हेक्का राख्न आयोगलाई आग्रह गरे ।

जनआन्दोलनको आगो दन्किने छ : झलनाथ

यस्तै नेता झलनाथ खनालले शान्तिपुर्ण आन्दोलनको आवाज नसुने आन्दोलनको आगोले ओलीको तानाशालाई समाप्त पार्ने धारणा राखे । प्रतिगमन विरुद्धको आन्दोलनमा सबै वर्ग तह र नागरिक समाज पनि सहभागी भएकाले यो आन्दोलनको आवाज सुनिएन भने ठूलो आगो दन्किने चेतावनी उनले दिए ।

उनले भने, ‘यो आन्दोलनको आवाज सुनिएन भने ६२/६३ को भन्दा ठूलो आगो दन्किने छ । जनआन्दोलनको आगो दन्किने छ । आगोले केपी ओलीको तानाशाहीलाई समाप्त पारी छोड्ने छ ।’

प्रधानमन्त्री ओलीले बैशाखमा चुनाव गराउने र आफुले दुई तिहाई बहुमत ल्याउने भन्दै आएकोमा व्यंग्य गर्दै उनले आगामी निर्वाचनमा ओलीको जमानत जफत हुने ठोकुवा गरे । उनले भने ‘आज हामी केपी ओलीलाई भन्न चाहन्छौं– मिस्टर केपी ओली ! तपाईंका खुट्टी हेर्दै पत्यायौं । अब तपाईंले दुई तिहाई होइन तपाईंको जमानत जफत हुनुहुनेछ । दुई वर्षपछि देशमा चुनाव हुन्छ । दुई वर्ष पछिको चुनावमा हेर्नुहोला मेचीदेखि महाकालीसम्मका १ सय ६५ सिटहरुमा तपाईंको जमानत जफत हुँदैछ । हामी आजै घोषणा गर्न चाहन्छौं ।’

ओलीद्वारा नेपालमा फाँसिवादको अभ्यास : नारायणकाजी

त्यस्तै नेता नारायणकाजी श्रेष्ठले नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री ओलीले नेपालमा फाँसिवादको अभ्यास गरिरहेको बताए । प्रधानमन्त्री ओलीले विकासको नारा दिएर, संविधान र लोकतन्त्रलाई उपहास गरेर, संविधानलाई औपचारिक रुपमा खारेज नगरीकन संविधानको धारा र अक्षरहरुमा कालोमसी पोतेर, लोकतन्त्रको हत्या गरेर फाँसिवादको अभ्यास गरेको उनको भनाइ छ । नेता श्रेष्ठले कुनैपनि हालतमा फाँसिवाद नसहने भन्दै फाँसिवादलाई परास्त गर्ने बताए ।

नेता श्रेष्ठले लोकतन्त्रवादीहरु चुनावको पक्षमा भएपनि संविधानलाई अपहरण गरेर, संविधानलाई घात गर्ने संविधान विरोधी चुनाव आफुहरुलाई नचाहिएको बताए । लोकतन्त्रलाई प्रभावकारी बनाउन, लोकतन्त्रलाई सुदृढ तथा कार्यकारी बनाउन चुनाव चाहिने उनको भनाइ छ ।

बोल्न पाउनुपर्छ : नेतृ झाँक्री

यस्तै प्रचण्ड-माधव समूहकी केन्द्रीय सदस्य रामकुमारी झाँक्रीले लामो संघर्षबाट प्राप्त उपलब्धिलाई च्युत गर्ने प्रधानमन्त्री र राष्ट्रपतिविरुद्ध बोल्न पाउनुपर्ने बताइन् । नेतृ झाँक्रीले निर्वाचनको प्रक्रियाबाट गएका पात्र निरंकुशताको साक्षी बसे त्यसविरुद्ध बोल्ने बताइन् ।

नेतृ झाँक्रीले प्रधानमन्त्री ओली कागजको बादशाह भएको र उनी ढलिसकेको अन्तिम घोषणा गर्न मात्र बाँकी रहेको दाबी गरिन् ।एउटा खलपात्रको विरुद्ध बोल्दै गर्दा त्यहाँ महिलाको अस्मिता नमिचिने नेतृ झाँक्रीको भनाइ छ ।

‘ओलीले सनकको भरमा गणतन्त्र मास्न खोजे’

प्रचण्ड-माधव समूहका कर्णाली प्रदेशका इन्चार्ज जनार्दन शर्माले जनताको ठूलो बलिदानीबाट प्राप्त उपलब्धि संघीय संविधानलाई प्रधानमन्त्रीले कुर्सीसँग साटेको आरोप लगाए । उनले सीमित राजनीतिक पार्टीका सीमित नेताहरुमा असीमित अधिकार दिँदा यो परिणाम आएको बताए ।

नेकपाका केन्द्रीय सदस्य सन्त कुमार चौधरीले प्रधानमन्त्री ओलीले सनकको भरमा गणतन्त्र मास्न खोजेको आरोप लगाए । उनले प्रतिगमन नसच्चिएसम्म प्रतिगमन विरुद्धको आन्दोलन नरोकिने चेतावनी दिए ।

नेकपाका केन्द्रीय सदस्य रामचन्द्र झाले प्रधानमन्त्री केपी ओलीले संविधानलाई तहसनहस गरेर मुलुकलाई दुर्घटनाको दिशामा लगेको आरोप लगाए । तानाशाहहरुले झुटलाई पोलिस गरेर सत्य जस्तै गरेर भ्रम छर्ने गरेको र केपी ओली पनि त्यस्तै तानाशाहा भएको उनको आरोप थियो ।

विरोधसभा अघि पुल्चोक, माइतीघर मण्डला, केशरमहल, त्रिपुरेश्वर र जमलबाट जुलुस निस्किएका थिए । शीर्ष नेताहरुले नेतृत्व गर्ने सबै स्थानको जलुस सुन्धारमा पुगेर मुल जुलुसमा परिणत भएको थियो ।

मुल जुलुशको नेतृत्व अध्यक्षद्वय दाहाल र नेपालले गरेका थिए । मुख्य जुलुश भृकुटीमण्डपमा पुगेर सभामा परिणत भएको हो । विरोधसभामा सहभागी हुन विभिन्न जिल्लाबाट कार्यकर्ताहरु काठमाडौं आएका थिए । शक्ति प्रदर्शनको पूर्वसन्ध्यामा स्वयंसेवकहरुले काठमाडौंमा मार्चपास गरेका थिए ।

Leave A Reply

Your email address will not be published.