नेपालले कोभ्याक्स सुविधाअन्तर्गत २२ लाख ५६ हजार डोज खोप पाउने

0

काठमाडौं : नेपालले कोभ्याक्स सुविधाअन्तर्गत २२ लाख ५६ हजार डोज कोरोना भाइरसविरुद्धको खोप पाउने भएको छ । विश्व स्वास्थ्य संगठन ‘डब्लूएचओ’ले बिहीबार प्रकाशित गरेको अन्तरिम वितरण तालिका अनुसार नेपालले सो संख्यामा खोप प्राप्त गर्ने भएको हो ।

भारतको सेरम इन्ष्टिच्युटले उत्पादन गरेको अक्सफोर्ड एस्टाजेनिकाको कोभिसिल्ड खोप नेपालले पाउने भएको हो । सो खोपको आपूर्ति फेब्रुअरीको अन्त्यसम्ममा हुन सक्ने अनुमान गरिएको छ ।

नेपालको औषधि व्यवस्था विभागले कोभिसिल्ड खोपलाई मात्र आपतकालिन प्रयोगका लागि अनुमति दिएको छ । कोभ्याक्स सुविधामार्फत नेपाललाई प्राप्त खोप तीन प्रतिशत जनसंख्यालाई लगाउन पुग्नेछ । सो खोप ५५ वर्षमाथिका र दीर्घ रोगीलाई लगाउने सरकारको योजना छ ।

कोभ्याक्सले खोप विकासका लागि अनुसन्धान र उत्पादनलाई सहयोग गर्दै आएको छ । यसले सबै देशलाई समान खोप वितरण गर्ने र सन् २०२१ को अन्त्यसम्म दुई अर्ब मात्रा खोप वितरण गर्ने लक्ष्य लिएको छ ।

कोभ्याक्स सुविधाअन्तर्गत ७८ देशले खोप किन्ने छन् । ९२ वटा कम आय भएका देशले विकास अनुदान वा निजी क्षेत्रको सहयोगमा खोप पाउने छन् । नेपालले सोही सुविधा पाउन लागेको हो ।

हाल भारत सरकारले अनुदानमा दिएको १० लाख डोज खोप नेपालभर लगाउन थालिएको छ । चीनले पनि तीन लाख डोज खोप सहयोगस्वरुप दिने घोषणा गरेको छ ।

नेपालले ७२ प्रतिशत जनसंख्यालाई खोप लगाउने योजना बनाएको छ । १८ वर्षभन्दा माथिल्लो उमेरकाले मात्र यो खोप लगाउन पाउनेछन् । नेपालमा २ लाख ७१ हजार भन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ । दुई हजार ३१ जनाले ज्यान गुमाएका छन् ।

Leave A Reply

Your email address will not be published.