सरकारले जंगली राज चलाउन खोज्यो : अध्यक्ष दाहाल

0

काठमाडौं : नेकपाको प्रचण्ड-माधव समूहले आह्वान गरेको आमहड्ताल सफल बनाउन भन्दै पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि सडकमा निस्केका छन् । उनी बिहीबार विहान सातदोवाटो चोकमा भएको प्रदर्शनमा सहभागी भएका हुन् । उनी केही समय चोकमा आयोजित नारावाजीमा समेत सहभागी भएका थिए ।

प्रदर्शनमा सहभागी अध्यक्ष दाहालले ७० वर्ष लडेर ल्याएको लोकतन्त्र गणतन्त्र र संबिधान धरापमा परेकाले बाध्यात्मक अवस्थामा बन्द गर्नुपरेको बताए । सरकारले देश, संविधान र लोकतन्त्रमाथि नै प्रहार गरेको भन्दै त्यस विरुद्धको आन्दोलन थप सशक्त बनाइने समेत उनले घोषणा गरे ।

ओली समूहले गर्ने भनेको प्रदर्शनलाई अध्यक्ष दाहालले पञ्चर्‍यालीको संज्ञा दिए । विगतमा पनि तानाशाहले यस्तै जुलुस गरेको भन्दै उनले ओली पक्षको सभा ‘निभ्ने बेलाको दियो’ भएको बताए ।

अध्यक्ष दाहालले संविधान मिचेर सरकारले दिउँसै रात पार्न खोजेकोले सशक्त आन्दोलनको आवश्यकता समेत औंल्याए । विभिन्न आयोगहरुमा सरकारले संबिधान मिचेर नियुक्ति दिएको भन्दै उपत्यकामा आयोजित प्रदर्शनमा पार्टीका शीर्ष नेता समेत सहभागी भएका हुन् ।

Leave A Reply

Your email address will not be published.