बुधबारका लागि बोलाइएको संवैधानिक परिषदको बैठक स्थगित

0

काठमाडौं : बुधबारका लागि बोलाइएको संवैधानिक परिषद् बैठक स्थगित भएको छ । प्रधानमन्त्री एवं संवैधानिक परिषदका अध्यक्ष केपी शर्मा ओलीले बुधबार साँझका लागि बोलाएको बैठक अर्को सूचना प्रकाशित नभएसम्म स्थगित भएको हो ।

यसअघिको बैठकका सिफारिसका विषयमा प्रश्न उठिरहेको समयमा नै प्रधानमन्त्रीले बैठक बोलाएको भन्दै आलोचना भएको थियो । विवादविच आयोजना हुने बैठकमा सभामुख अग्नीप्रसाद सापकोटा र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पुन सहभागी नहुने देखिएपछि बैठक स्थगित गरिएको बुझिएको छ ।

संवैधानिक निकायमा नियुक्तिको सिफारिस र विविध विषयमा छलफलका लागि भन्दै बैठक बोलाइएको थियो । दुईदिन अघि मात्रै प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले संवैधानिक परिषद्द्वारा विभिन्न आयोगमा सिफारिस गरेका नामहरू फिर्ता पठाएका थिए । त्यसमा सापकोटा र राष्ट्रिय सभा अध्यक्ष गणेश तिमल्सिनाबीच मतभेद समेत देखिएको थियो ।

संवैधानिक परिषद्ले नयाँ अध्यादेशअनुसार बहुमत सदस्यको उपस्थितिमा बैठक बसी मंसिर ३० गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगसहित विभिन्न आयोगहरूमा नियुक्तिको सिफारिस गरेको थियो । बैठकमा सभामुख र विपक्षी दलका नेता अनुपस्थित थिए ।

अध्यादेशलाई लिएर प्रधानमन्त्रीको दलको असन्तुष्ट समूह र प्रमुख विपक्षी दुवैले चर्को विरोध गरिरहेका बेला भएको उक्त निर्णय प्रतिनिधिसभा विघटन भएको दिन मात्रै सार्वजनिक गरिएको थियो ।

Leave A Reply

Your email address will not be published.