विश्व कुष्ठरोग दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै

0

काठमाडौं : ६८ औं विश्व कुष्ठरोग दिवस आज विभिन्न कार्यक्रम गरेर नेपालमा पनि मनाइँदैछ । कुष्ठरोगका प्रभावितहरूप्रति जागरुकता देखाउने उद्देश्यले सन् १९५४ देखि यो दिवस विश्वभर मनाउन थालिएको हो ।

नेपालमा कुष्ठरोग जनस्वास्थ्यको समस्याका रूपमा छैन भनेर एक दशकअघि नै घोषणा गरिए पनि १७ जिल्लाबाट अझै यो रोग हट्न सकेको छैन ।

उदयपुर, रुपन्देही, महोत्तरी, बर्दिया, रौतहट, मोरङ, नवलपरासी पश्चिम, सिरहा, कपिलवस्तु, अछाम, कैलाली, झापा, सर्लाही, पर्सा, बाँके, बारा र धनुषामा कुष्ठरोग जनस्वास्थ्यको समस्याका रूपमा छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार प्रति १० हजार जनसंख्यामा एक जना पनि बिरामी नहुनुलाई जनस्वास्थ्य समस्या नभएको मानिन्छ । प्राथमिकतामा नपर्दा सन् २०२० सम्म देशबाट कुष्ठरोग उन्मूलन गर्ने सरकारको रणनीति असफल भएको छ ।

नेपालमा हरेका वर्ष ३ हजारभन्दा धेरै नयाँ बिरामी थपिने गरेका सरकारी तथ्याङ्क छ । रोग देखिनासाथ औषधि सेवन नगरेका कारण नेपालमा ३० हजार व्यक्ति अंगभंग भएका छन् । बिरामी भने उपचारभन्दा झारफुकतिर लाग्ने र घरभित्रै लुक्ने गरेकाले देशलाई रोगीमुक्त बनाउन चुनौती थपिएको छ ।

Leave A Reply

Your email address will not be published.