आज शहीद दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै

0

काठमाडौं : देश र जनताको हकअधिकारका लागि आफ्नो प्राण आहुति दिने शहीदको सम्झनामा शुक्रबार विभिन्न कार्यक्रम आयोजना गरी शहीद दिवस मनाइँदैछ । प्रत्येक वर्ष माघ १० देखि १६ गतेसम्म मनाइने शहीद सप्ताहको अन्तिम दिन विशेष रुपमा शहीद दिवस मनाउने गरिन्छ ।

विक्रम सम्बत २०१२ देखि काठमाडौँ महानगरपालिकाको संयोजनमा प्रत्येक वर्ष माघ १६ गते शहीद दिवस मनाउन थालिएको हो ।

महानगरपालिकाको संयोजकत्वमा गठित मूल समारोह समितिले शुक्रबार रत्नपार्कस्थित शान्तिवाटिकाबाट प्रभातफेरी गरी लैनचौरस्थित शहीद स्मारकमा गएर विशेष कार्यक्रम गर्दैछ । प्रभातफेरीमा संवैधानिक निकायका प्रमुख एवम् सदस्य, मन्त्रीगणलगायत पनि सहभागी हुनेछन् । लैनचौरमा प्रधानमन्त्री केपी शर्मा ओलीले शहीदको सालिकमा माल्यार्पण गर्ने कार्यक्रम छ ।

राणाशासकले शहीद शुक्रराज शास्त्रीलाई विसं १९९७ माघ १० गते टेकुस्थित पचलीमा, शहीद धर्मभक्त माथेमालाई माघ १३ गते सिफलमा र गङ्गालाल श्रेष्ठ एवम् दशरथ चन्दलाई माघ १५ गते शोभाभगवतीमा मृत्युदण्ड दिएका थिए ।

मुलुक र जनताका लागि भएका अधिकारका आन्दोलनमा आफूलाई समर्पित गर्ने सम्पूर्ण शहीदको माघ १६ गते सम्झना गरिन्छ । मुलुकमा चलेको १० वर्षे सशस्त्र द्वन्द्व, २०६२/०६३ सालको जनआन्दोलन, मधेस आन्दोलन र अन्य विभिन्न पहिचानका आन्दोलनपछि सहादत प्राप्त गर्ने व्यक्तिलाई शहीद घोषणा गर्ने प्रचलन बढेको छ ।

तर सरकारसँग हालसम्म मुलुकमा कति व्यक्ति शहीद भए भन्ने आधिकारिक तथ्याङ्क छैन । झैझगडा र दुर्घटनामा ज्यान गुमाएका व्यक्तिलाई समेत शहीद घोषणा गर्नुपर्ने र१० लाख आर्थिक सहयोगका लागि दबाब दिने प्रचलनले वास्तविक शहीदको भावनामा चोट पुगेको गुनासो बढ्न थालेको छ ।

Leave A Reply

Your email address will not be published.