नेपाली काँग्रेसद्वारा प्रधानप्रति समवेदना

0

काठमाडौँ, २० साउन । नेपाली काँग्रेसले पूर्वसांसद तथा पार्टीका नेता सूर्यप्रसाद प्रधानको निधन भएकामा गहिरो दुःख व्यक्त गर्दै दिवङ्गत आत्माको चिर शान्तिको कामना तथा शोकसन्तप्त परिवारप्रति हार्दिक समवेदना प्रकट गरेको छ ।
मुख्यसचिव ऋषिकेश तिवारीले आज जारी गर्नुभएको विज्ञप्तिमा प्रधानको निधनबाट एक कुशल सङ्गठनकर्तालाई गुमाउनुपर्दा पार्टीलाई अपूरणीय क्षति पुगेको उल्लेख गर्दैै काँग्रेसको सङ्गठनमा उहाँले पु-याउनुभएको योगदान सदा स्मरणीय रहिरहनेछ भनिएको छ ।
नेपाली काँग्रेसका पूर्वसांसद प्रधानको ७६ वर्षको उमेरमा आज बिहान ५ बजे उपचारका क्रममा निधन भयो । स्व प्रधान उच्च रक्तचाप र मधुमेहको बिरामी हुनुहुन्थ्यो । श्वासप्रश्वासमा समस्या भएपछि मङ्गलबार राति लुम्बिनी अञ्चल अस्पतालमा उहाँलाई उपचारका लागि लगिएको थियो ।
स्व. प्रधान २०५६ को आम निर्वाचनमा नेपाली काँग्रेसका तर्फबाट रुपन्देही क्षेत्र नं ३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको थियो । त्यसैगरी संविधानसभाको निर्वाचन २०६४ र २०७० मा उहाँ रुपन्देही निर्वाचन क्षेत्र नं ४ को उम्मेदवार हुनुहुन्थ्यो । नेपाली काँग्रेसको महासमिति सदस्यसमेत रहनुभएका स्व. प्रधानले पार्टीको विभिन्न तहमा रहेर प्रजातन्त्र स्थापना र पुनःस्थापनामा सक्रिय भूमिका निर्वाह गर्नुभएको थियो ।

Leave A Reply

Your email address will not be published.