आज २३ औं राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइँदै

0

काठमाडौं : आज देशभर विभिन्न कार्यक्रमको आयोजना गरी २३ औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइँदै छ । ‘बहुप्रकोपीय विपदमा भूकम्पीय सुरक्षा, साझा सहकार्यमा जनधनको रक्षा’ नाराका साथ दिवस मनाउन लागिएको हो ।

विसं २०५५ देखि २ माघलाई राष्ट्रिय भूकम्प सुरक्षा दिवसका रूपमा मनाउन थालिएको हो । भूकम्पका बारेमा जनचेतना जगाउने उद्देश्यले सरकारले यो दिवस मनाउन शुरु गरेको थियो ।

दिवसका अवसरमा शुभकामना दिँदै प्रधानमन्त्री केपी शर्मा ओलीले विपद जोखिम न्यूनीकरणलाई दिगो र परिणाममुखी बनाउन सरकारको तर्फबाट योजनाबद्ध प्रयत्न गरिने प्रतिबद्धता जनाएका छन् ।

दिवसका अवसरमा मूल समारोह समितिले शुक्रबार भक्तपुर मध्यपुरथिमि नगरपालिका आठ बोडेस्थित कुमारी पार्कमा विशेष कार्यक्रमको आयोजना गर्दैछ । कार्यक्रममा प्रधानमन्त्री ओली, गृहमन्त्री रामबहादुर थापा लगायत सहभागी हुनेछन् ।

कार्यक्रममा भर्चुअल माध्यमबाट पनि सहभागी हुन सकिने जनाइएको छ । दिवसको अवसरमा भूकम्प सुरक्षा डिजिटल प्रदर्शनीको समेत आयोजना गरिने जनाइएको छ ।

यो दिवस मनाउन थालेपछि २०७२ बैशाख १२ गते गोरखाको बारपाक केन्द्रबिन्दु भएको भूकम्पले करिब ९ हजार मानिसको मृत्यु भएको थियो । भुकम्पमा आठ लाखभन्दा बढी निजी घर ध्वस्त भए । ९ सयभन्दा बढी पुरातात्विक सम्पदा भत्किए ।

Leave A Reply

Your email address will not be published.