नेपाललाई विश्वकै ध्यानको राजधानी बनाऔं : स्वामी आनन्द अरुण

0

काठमाडौं (जीएनएन) — ओशो तपोवन काठमाडौंका संस्थापक स्वामी आनन्द अरुणले नेपाललाई विश्वकै ध्यानको राजधानी बनाउने प्रस्ताव राखेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा उनले पहिले नेपालले राष्ट्रिय ध्यान दिवस घोषणा गर्नुपर्ने पनि बताए ।

राष्ट्रिय योग दिवस तथा माघे संक्रान्तिको अवसरमा बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आयोजित समारोहमा स्वामी अरुणले भारतको आह्वानमा अन्तर्राष्ट्रिय योग दिवस घोषणा भएको भन्दै नेपालले आफ्नै प्रस्तावमा अन्तर्राष्ट्रिय ध्यान दिवस घोषणा गराउन पहल गर्नुपर्ने बताए । ‘पहिले नेपालले ध्यान दिवस घोषणा गरौं,’ प्रधानमन्त्री समक्ष उनले प्रस्ताव राखे, ‘त्यसपछि संयुक्त राष्ट्र संघमा प्रस्ताव लैजाऔंला । त्यसपछि नेपाललाई ध्यानको अन्तर्राष्ट्रिय राजधानी ‘वर्ल्ड क्यापिटल अफ मेडिटेसन’ बनाउन सकिन्छ,’ उनले भने ।

स्वामी आनन्द अरुणले ध्यान दिवस मनाउन थुप्रै मुलुक तयार रहेको जानकारी पनि दिए । अहिलेको समयमा योग र ध्यानप्रति मानिसहरुको रुची बढीरहेको छ भन्दै उनले विश्वभर दैनिक कम्तीमा तीन करोड व्यक्तिले कुनै न कुनै प्रकारको योग अभ्यास गरिरहेको जानकारी दिए । ध्यान र योग हाम्रै हिमाली क्षेत्रमा पैदा भएको विज्ञान हो भन्दै उनले नेपालले आफ्नो विज्ञानको प्रचार प्रसार गर्नुपर्ने बताए ।

‘विश्वमा कोरोना महामारी शुरु भएपछि योग र ध्यानको महत्व झनै बढेको छ । जसले योग र ध्यान गर्छ, उसको रोग प्रतिरोधात्मक क्षमता पनि बढी हुन्छ,’ उनले भने । योग र ध्यानका कारण मानसिक स्वास्थ्यको समस्याबाट मुक्ति मिल्ने उनले बताए । ‘अहिले विश्वभर मानसिक रोगबाट धेरै मानिसहरु ग्रसित छन्, आत्महत्या बढेको छ, मानसिक रोग सबैभन्दा ठूलो रोग हुँदै आएको छ । त्यसको सबै भन्दा ठूलो औषधि ध्यान हो,’ उनले भने ।

समारोहलाई सम्बोधन गर्दै प्रधानमंत्री केपी शर्मा ओलीले योग कुनै धर्म वा अध्यात्मसँग सम्बन्धित नरहेको बताए । ‘यो दर्शनको सृष्टिभन्दा अगाडिबाट विकसित हुँदै चिन्तन, मनन र ज्ञानसँग सम्बन्धित हुँदै आएको छ । हामीले यसलाई दैनिक जीवन पद्धतिमा अपनाउनुपर्छ ।’ सो अवसरमा प्रधानमन्त्रीसहित सरकारका मन्त्रीहरु र उच्च सरकारी अधिकारीहरुलाई योगाभ्यास गराइएको थियो ।

Leave A Reply

Your email address will not be published.