ट्रम्पको ट्वीटर एकाउन्ट स्थायीरुपमै निलम्बित

0

एजेन्सी : ट्वीटरले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ट्वीटर एकाउण्ट स्थायी रुपमा निलम्बित गरिदिएको छ । हिंसा भड्किने जोखिमका कारण ट्रम्पको एकाउण्ट स्थायी रुपमै निलम्बित गरिएको ट्वीटरले जानकारी दिएको छ ।

यसअघि पनि ट्वीटरले जनवरी ६ मा ट्रम्पको एकाउण्टमाथि १२ घण्टाका लागि प्रतिबन्ध लगाएको थियो । क्यापिटल हिल्स भवनमा हिंसा मच्चाउनलाई ‘देशभक्त’ को संज्ञा दिने खालका ट्वीट गरेपछि उनको अकाउण्ट निलम्बित गरिएको हो ।

प्रतिबन्ध हटे लगत्तै ट्रम्पले ट्वीट गर्दै जनवरी २० मा अमेरिकाका आगामी राष्ट्रपति जो बाइडडनको शपथ ग्रहण समारोहमा आफू नजाने बताए । शपथ ग्रहण कार्यक्रममा जान्न भन्दै ट्रम्पले चुनावी नतिजाको वैधतामाथि प्रश्न उठाएको र यसले शपथ ग्रहण समारोहलाई असर पुर्‍याउने देखिएकाले उनको एकाउण्ट निलम्बित गरिएको पनि ट्वीटरले स्पष्टीकरण दिएको छ ।

साथै ट्रम्पले अर्को एकाउण्ट बनाएर आफ्ना सन्देश दिन सक्ने भएकाले आफूहरु चनाखो भएको पनि ट्वीटरले बताएको छ । आचारसंहिता उल्लंघन गरे नयाँ एकाउण्टमाथि पनि प्रतिबन्ध लगाइने ट्वीटरले स्पष्ट पारेको छ ।

बुधबार राष्ट्रपति ट्रम्पका समर्थकद्वारा अमेरिकी संसद् भवनमा आक्रमण भएपछि फेसबुक, स्न्यापच्याट र इन्स्टाग्रामले भने केही हप्ताका लागि ट्रम्पको खाता रोक्का गरेका थिए ।

बुधबार राष्ट्रपति ट्रम्पको उक्साहटमा भड्किएको हिंसामा एक प्रहरीसहित छ जनाको मृत्यु भएको थियो । बाइडनको जित अस्वीकार गर्न ट्रम्पकै उक्साहटमा त्यो आक्रमण भएको आरोप छ ।

Leave A Reply

Your email address will not be published.