प्रचण्ड-माधव समूहमाथि ओलीको आरोप : ‘पार्टी छाडेर भागेका भगौडाहरु’

0

धनगढी : प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्ड-माधव समूहलाई पार्टी छोडेर भागेका भगौडाहरुको संज्ञा दिएका छन् । शुक्रबार कैलालीको धनगढीमा पार्टीको प्रदेशस्तरीय जनसभालाई सम्बोधन गर्दै उनले गाली गर्दै हिँडेका पार्टी छाडेर भागेका भगौडाहरुका कुरा नसुन्न आग्रह गरे ।

उनले सडकमा गएर गालीगलौज गरेर मुख छाडेर, पत्रिकामा लेखाएर, अश्लिल गाली गलौजका नाराहरु लगाउने काम प्रचण्ड-माधव समूहले गरिरहेको आरोप लगाए । प्रचण्ड-माधव समूह गालीगलौज गरेर हिँडेको भएपनि आफू भने देश बचाउन हिँडेको उनले दाबी गरे ।

दुई/चार जना मान्छे पिलो निचोरेजस्तो निचोरिँदा नेकपाको वजन नघट्ने उनको भनाइ छ । तीन करोडमा २ सय ६५ अर्कोतिर लाग्दा केही नहुने उनको भनाइ छ । पार्टी छाडेर जानेलाई उनले आगामी चुनावमा दश सिट जितेर देखाउन चुनौती पनि दिए । काम लाग्छ कि भनेर प्रचण्डलाई पार्टीमा ल्याएपनि सुधार गर्न नसकेको पनि उनले उल्लेख गरे ।

प्रधानमन्त्री ओलीले प्रचण्ड-माधव समूहका नेताहरु आफन्तलाई मौका दिने काममा मात्रै लागेको आरोप लगाए । आफुले भने आफन्त टपक्क टिपेर जागिर नदिएको ओलीको भनाइ छ । प्रचण्ड-माधव समूहका दुई अध्यक्ष भन्दा आफु राजनीतिमा दश वर्ष जेठो रहेको दावी पनि उनले गरे ।

प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा पुनर्स्थापना पनि नहुने र चुनाव निर्धारित समयमै हुने भन्दै निर्वाचनको तयारीमा लाग्न आग्रह गरे । उनले भीम रावलप्रति लक्षित गर्दै मन्त्री नपाएका कारण आफ्नो विरोधमा लागेको बताए ।

प्रधानमन्त्री ओलीले पश्चिम सेती जलविद्युत आयोजनलाई तत्काल अगाडि बढाउने र गौरीफन्टा नाकाको स्तरोन्नतिको कार्य पनि अगाडि बढाउने बताए ।

Leave A Reply

Your email address will not be published.