अल्पमतमा परेपछि ओलीले राजीनामा दिनुपर्थ्यो : बामदेव गौतम

0

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता वामदेव गौतमले हाल आफ्नो दल दुई समूहमा विभाजित देखिए पनि आफू कुनै समूहमा नभएको स्पष्ट गरेका छन् । राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा उनले भने, “तीन वर्षमा पार्टी विभाजन गर्नु थियो भने एकता किन गर्नुपर्थ्यो ? पार्टीमा अन्तरपार्टी सङ्घर्ष र वादविवाद हुन्छ  तर नेता त्यो हुन्छ जसले ती विवादमा समाधान दिन सक्छ ।” 

प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैलीले नै पार्टीमा विभाजनको अवस्था आएको गौतमको दावी छ । उपाध्यक्ष गौतमले आफ्नो स्वार्थअनुसार संविधानलाई बदनाम गर्न नहुने स्पष्ट पारे । पार्टीमा अल्पमतमा परेपछि राजीनामा दिनुपर्नेमा प्रधानमन्त्री ओलीले संसद भंग गरेको आरोप उपाध्यक्ष गौतमले लगाए ।

पार्टी विभाजनको कुनै औचित्यता नरहेको बताउँदै नेकपा उपाध्यक्ष गौतमले पार्टीका नेताहरुको कार्यशैलीमा सुधारका लागि आफूले प्रयास गरे पनि सफल हुन नसकेको धारणा व्यक्त गरे । आफू विभिन्न कारणले विरोधी जस्तो भएर बस्नुपरेको गुनासो पनि उनले राखे । 

पछिल्लो समय आफू निरन्तर पार्टी एकतालाई जोगाउन लागिपरेको र अविश्वासको प्रस्तावलाई पनि असफल गराएको जानकारी दिँदै नेता गौतमले भने, “आरोपप्रत्यारोपका पत्र राख्दा पनि यो एउटा सुधारका निम्ति उपाय हुन सक्छ भन्ने लागेको थियो । यसपटक प्रतिनिधिसभा भङ्ग गर्दा पनि मलाई थाहा भएन ।” 

प्रतिनिधिसभा विघटनसम्बन्धी विषय सर्वाेच्च अदालतको संवैधानिक इजलासमा लगिएपछि विचाराधीन भएकाले अहिले असंवैधानिक भनेर भन्न नमिल्ने बताउँदै नेता गौतमले त्यसैले आफू चुप लागेको छु भने ।  नेकपाले संविधानको सर्वाेच्चतालाई आफ्नो मूल सिद्धान्त बनाएको उनको भनाइ थियो ।

Leave A Reply

Your email address will not be published.