बाइडनको शपथ समारोहमा जिम्मी कार्टर नजाने !

0

नवनिर्वाचित अमेरिकी राष्ट्रपति जो बाइडनको शपथ समारोहमा अमेरिकाका पूर्वराष्ट्रपति जिम्मी कार्टर उपस्थित नहुने भएका छन् ।

पूर्व राष्ट्रपति जर्ज बुश र उनकी पत्नी लाउरा बुश भने जनवरी २० मा हुने पद हस्तान्तरण समारोहमा उपस्थित हुने उनको सचिवलायले जनाएको छ । रिपब्लिकन पार्टीबाट अमेरिकाको ४३ औं राष्ट्रपति बनेका बुशले परिणाममा अग्रता लिँदासाथ बाइडनले बधाई समेत दिएका थिए ।

बुश दम्पत्ति यसअघि बराक ओबामा र डोनाल्ड ट्रम्पको पद हस्तान्तरण कार्यक्रममा पनि उपस्थित भएका थिए ।

अमेरिकाका ३९ औं राष्ट्रपति जिम्मी कार्टर भने उपस्थित हुन नसक्ने उनको सचिवालयले जनाएको छ । कार्टर र उनकी पत्नी रोस्लान कार्टर ओबामा र ट्रम्पको पद हस्तान्तरण कार्यक्रममा भने उपस्थित भएका थिए ।

पद हस्तान्तरण कार्यक्रममा सशरीर उपस्थित हुन नसके पनि राष्ट्रपति निर्वाचित बाइडन र उपराष्ट्रपति कमला ह्यारिसको सम्पूर्ण सफलताको कामनासहितको शुभकामना पत्र पठाइने उनका प्रवक्ता डीआना कोन्जिलिओले जानकारी दिइन् ।

९६ वर्षीय कार्टर अमेरिकाको सबैभन्दा ज्येष्ठ जिवित पूर्व राष्ट्रपति हुन् । उनी मष्तिस्क र कलेजोको क्यान्सरबाट पीडित छन् ।

अमेरिकामा गत नोभेम्बरमा सम्पन्न राष्ट्रपति निर्वाचनबाट वहालवाला राष्ट्रपति डोनल्ड ट्रम्पलाई हराउँदै पूर्वउपराष्ट्रपति एवं डेमोक्रेट उम्मेदवार जो बाइडन निर्वाचित भएका थिए ।

तर आफ्नो हार स्वीकार्न नसकेका ट्रम्पले निर्वाचन परिणाम बदर गराउन गरेका अनेकन तिकडम विफल भएका छन् । उनी पद हस्तान्तरण कार्यक्रममा समेत उपस्थित नहुनेसम्मका खबरहरु सार्वजनिक भइरहेका छन् ।

Leave A Reply

Your email address will not be published.