राष्ट्रपतिलाई गालीगलौज गर्नेहरुविरुद्ध कानुनी कारबाही हुन्छ : गृहमन्त्री थापा

0

काठमाडौं : अखिल नेपाल महिला संघ ‘अनेमसंघ’ले राष्ट्रपति विद्यादेवी भण्डारीमाथि अशोभनिय र अराजक नाराबाजी गर्नेहरुविरुद्ध कारबाहीको माग गर्दै गृहमन्त्री समक्ष ज्ञापन पत्र बुझाएको छ ।

नेकपा ओली समूहको अनेमसंघले आज गृहमन्त्री रामबहादुर थापा समक्ष ज्ञापनपत्र बुझाउँदै विभिन्न सार्वजनिक कार्यक्रम, भेला, जुलुस तथा सामाजिक सञ्जालबाट राष्ट्रपतिलाई गालि गलौज गर्नेहरु विरुद्ध कानुनी कारबाही गर्न माग गरेको हो ।

ज्ञापन पत्र बुझ्दै गृहमन्त्री थापाले राष्ट्रपतिमाथि अशोभनिय र अर्मयादित विषय उठाइएको प्रति सरकारको ध्यानाकर्षण भएको बताए । उनले सम्बन्धित निकायलाई छानविन गरी कारबाही गर्न निर्देशन दिएको पनि बताए ।

प्रधानमन्त्री र राष्ट्रपतिको विरुद्धमा अमानविय, अर्मयादित, अशोभनिय तथा अराजक अभिव्यक्ति आएको भन्दै अनेमसंघले आपत्ति जनाएको हो । नाराबाजी गर्ने विरुद्ध कानुनी कारबाही गरिनुपर्ने अन्यथा आफुहरु नै कानुनी प्रक्रियामा जाने अनेमसंघले चेतावनी दिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले पौष ५ गते प्रतिनिधि सभा विघटन गरेसँगै विभिन्न राजनीतिक दलहरु सरकारको असंवैधानिक कदम भन्दै आन्दोलित भएका छन् । आन्दोलनमा प्रधानमन्त्री र राष्ट्रपति विरुद्ध नारावाजि हुने गरेको छ ।

Leave A Reply

Your email address will not be published.