ओली समूहको निर्णय : २०७८ मंसिर २ मा महाधिवेशन

0

काठमाडौं : सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली समूहको केन्द्रीय समिति बैठकले २०७८ मंसिर दुई गते पार्टी महाधिवेशन गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मंगलबार बसेको बैठकले २०७८ मंसिर २ गतेदेखि ७ गतेसम्म गर्ने निर्णय गरेको हो ।

बैठकले प्रदीप ज्ञवालीलाई पार्टी प्रवक्ता तोकेको छ भने बिहीबार नौ गते महाधिवेशन आयोजक कमिटीको पहिलो बैठक बोलाइएको छ । बैठकपछि ज्ञवालीले अर्का अध्यक्ष पुष्पकमल दाहाल र नेता माधव नेपाल समूहले बोलाएको कुनै पनि बैठकको वैधानिकता नभएको बताए ।

केन्द्रीय समितिको बैठकका निर्णयबारे जानकारी गराउँदै ज्ञवालीले नेकपा विघटन नभएको र प्रतिनिधिसभा मात्र विघटन भएको बताए । उनले लोकतान्त्रिक दलहरु निर्वाचनबाट नडराउने उल्लेख गर्दै निर्वाचनमा नगएर दलहरु आन्दोलनमा जान्छन् भन्ने कुनै विश्वास नभएको बताए ।

बैठकले तत्काल ५ सय ५६ जना थप गरी र बाँकी १९७ जना थप गर्न सक्नेगरी ११ सय ९९ सदस्यीय महाधिवेशन आयोजक समिति घोषणा गरेको छ । थपिएका केन्द्रीय सदस्यको सपथ मंगलबार नै गराइएको छ ।

बैठकले दुई दिनभित्रै सातै प्रदेशमा कार्यकर्ता भेला गर्ने निर्णय गरेको छ । भेलालाई सम्बोधन गर्दै ओलीले कसैलाई कारबाही पनि नगर्ने र पार्टी विभाजन पनि नगर्ने पनि बताएका छन् । पार्टी विभाजनतर्फ नलागी महाधिवेशन आयोजना गरेर नेतृत्व घोषणा गर्ने उनले बताएका हुन् ।

Leave A Reply

Your email address will not be published.