सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्बहाली गर्न सक्दैन : प्रधानमन्त्री ओली

0

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्बहाली गर्न नसक्ने दाबी गरेका छन् । आफूनिकटका नेतालाई बालुवाटार बोलाएर उनले प्रतिनिधिसभा पुनर्बहाली हुन नसक्ने बताएका हुन् ।

उनले ६४ प्रतिशत जनमत लिएको प्रधानमन्त्रीले विघटन गरेको निर्णय अदालतले उल्ट्याउन नसक्ने दाबी भेलामा गरेका हुन् । प्रधानमन्त्री ओलीले नेकपामा आफूले हस्ताक्षर नगरेको कुनै पनि निर्णयले वैधानिकता नपाउने बताएका छन् ।

आफूलाई अनुशासनको कारवाही गर्ने भन्ने हल्ला सुनेको भन्दै त्यस्ता निर्णय मनको चित्त बुझाउनलाई मात्र काम लाग्ने उनले आफु निकटका नेतालाई बताए । सरकारलाई पार्टीभित्रैबाट असहयोग भएकाले अहिलेको अवस्था आएको उनको भनाइ छ ।

प्रधानमन्त्री ओलीले विभिन्न बहानामा सरकारलाई झुलाउने काम भएकाले ताजा जनादेश प्राप्त गर्न नयाँ निर्वाचनमा जानु परेको प्रष्टिकरण पनि दिएका छन् । उनले अर्का अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेता माधव नेपालले सरकारलाई असहयोग गरेको, सबै नियुक्तिमा भागवण्डा खोजेको,पार्टीभित्रै प्रतिपक्षको भूमिका खेलेको आरोप पनि लगाएका छन् ।

दाहालले पार्टी एकतामा तत्परता नदेखाएका कारण पनि अहिलेको अवस्थामा जानु परेको आरोप उनको छ । ओलीले पार्टीभित्रैबाट भएको असहयोग र सरकारले गरेका राम्रा कामहरुलाई लिएर जनतामाझ जान सांसदहरुलाई निर्देशन समेत दिएका छन् । भेलालाई महासचिव विष्णु पौडेल र पूर्व माओवादी खेमामा लेखराज भट्टले पनि सम्बोधन गरेका छन् ।

Leave A Reply

Your email address will not be published.