ओलीको पार्टी विरोधी गतिविधिले पार्टी एकतालाई भत्काउन सक्दैन : प्रचण्ड

0

काठमाडौं : नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीको पार्टी विरोधी गतिविधिले पार्टी एकतालाई भत्काउन नसक्ने स्पष्ट पारेका छन् ।

उनले एकतालाई कमजोर पार्ने सबै प्रकारका प्रवृत्ति र तत्वहरुका विरुद्ध एकतावद्ध भएर उभिन पनि नेता कार्यकर्तालाई अनुरोध गरेका छन् ।

यस्तै दाहालले ओलीले जे जस्तो हर्कत गरेपनि बाँकी पार्टीपंक्ति एकतावद्ध रहेको पनि स्पष्ट पारेका छन् । आज एक विज्ञप्ति जारी गर्दै अध्यक्ष दाहालले पार्टीका सम्पूर्ण नेता, कार्यकर्ता, पार्टी पङ्ति र आम–जनसमुदायलाई पार्टी एकतावद्ध रहेको र कुनै व्यक्तिको पार्टी, राष्ट्र र जनता विरोधी यस प्रकारका कार्यले पार्टीको एकतालाई कुनै तात्विक असर नपर्ने उल्लेख गरेका छन् ।

दाहालले विज्ञप्तिमा नेपाली जनताले ठूलो त्याग र बलिदानपूर्ण संघर्षको परिणाम स्वरुप प्राप्त गरेको संघीय लोकतान्त्रिक गणतन्त्र सहितको राजनीतिक परिवर्तनको रक्षा गर्नु आजको ऐतिहासिक कार्यभार भनेका छन् ।

ओली एकजनाको पार्टी विरोधी गतिविधिले एकीकृत पार्टीको संरचना र पार्टी एकतालाई भत्काउन नसक्ने ठोकुवा गर्दै दाहालले राष्ट्रको समृद्धि र कम्युनिष्ट आन्दोलनको भविष्यका निम्ति पार्टी एकतालाई कमजोर पार्ने सबै प्रकारका प्रवृति र तत्वहरुका विरुद्ध एकतावद्ध भएर उभिन आग्रह पनि गरेका छन् ।

कुनै व्यक्तिको पार्टी विरोधी गतिविधिले एकीकृत पार्टीको संरचना र पार्टी एकतालाई भत्काउन नसक्ने भन्दै त्यसप्रकारको कुनै भ्रमात्मक प्रचारमा नपर्न पनि दाहालले सबैलाई अपील गरेका छन् ।

ओलीले चालेको प्रतिनिधि सभा विघटनको असंवैधानिक, अलोकतान्त्रिक, निरंकुश, पश्चगामी एवम् स्वेच्छाचारी कदमलाई पार्टीको स्थायी समितिको बैठकले विरोध एवम् भत्र्सना गरिसकेको भन्दै दाहालले ओलीलाई अनुशासनको कारबाहीका निम्ति स्पष्टीकरण माग्ने निर्णय भइकेको पनि स्पष्ट पारेका छन् ।

Leave A Reply

Your email address will not be published.