नेकपा अध्यक्ष ओली र दाहालबीच खुमलटारमा छलफल

0

काठमाडौं : पार्टीभित्रको विवादमा सहमति खोज्ने विषयमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच आज भेटवार्ता भएको छ । प्रधानमन्त्रीमा निर्वाचित भएपछि ओली पहिलोपटक दाहाल निवास खुमलटार पुगेका हुन् ।

भेटमा अध्यादेश जारी भएपछि देखिएको विवाद, स्थायी समिति बैठकमा एजेण्डा लगायतका विषयमा केन्द्रित भएर छलफल भएको बताइएको छ ।

खुमलटारमा भएको छलफलमा वरिष्ठ नेता माधव नेपाल र उपाध्यक्ष बामदेव गौतम पनि सहभागी भएका थिए । शुरुमा दुई अध्यक्षबीच छलफल भए लगत्तै उपाध्यक्ष गौतम सहित तीन नेताबीच गतिरोध अन्त्यका विषयमा कुराकानी भएको हो । त्यसलगत्तै पार्टीका वरिष्ठ नेता नेपाल समेत खुमलटार पुगेका थिए ।

ओली र गौतम बाहिरिएपछि अध्यक्ष दाहाल र वरिष्ठ नेता नेपालबीच छलफल भएको थियो । खुमलटारबाट बाहिरिएलगत्तै प्रधानमन्त्री ओलीले पुल्चोक पुगेर गृहमन्त्री एवम् पार्टी सचिवालय सदस्य रामबहादुर थापासँग छलफल गरेका छन् ।

दुबै अध्यक्षबीच शुक्रबार पनि बालुवाटारमा छलफल भएको थियो । पछिल्लो पटक सरकारले ल्याएको संवैधानिक परिषद्सम्बन्धी अध्यादेशको सन्दर्भमा नै नेकपाभित्र विवाद चुलिएको छ ।

बुधबारको स्थायी समिति बैठकले अध्यादेश तथा संघीय संसद्को विशेष अधिवेशन बोलाउन माग गर्दै पार्टीका सांसदले राष्ट्रपतिसमक्ष दिएको आवेदन फिर्ता लिने निर्णय गरेको थियो ।

तर अध्यादेश अहिलेसम्म औपचारिक रुपमा फिर्ता भएको छैन । नेकपा स्थायी समितिको अर्को बैठक आइतबार बस्दैछ । केन्द्रीय समितिको बैठक पुस १० गतेका लागि बोलाइएको छ ।

Leave A Reply

Your email address will not be published.