प्रधानमन्त्री ओली दाहाललाई भेटन खुमलटार जाँदै

0

काठमाडौं : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाललाई भेट्न खुमलटार जाने भएका छन् । प्रधानमन्त्रीमा निर्वाचित भएपछि ओली पहिलोपटक दाहाल निवास जाने भएका हुन् ।

भेटमा पार्टीमा जारी गतिरोध र विवादमा सहमतिका प्रयासका विषयमा कुराकानी हुने बताइएको छ । दुबै अध्यक्षविच शुक्रबार पनि बालुवाटारमा छलफल भएको थियो । छलफलमा दाहालले आफु सधै बालुवाटार धाइरहेपनि ओली खुमलटार नआएको गुनासो गरेका थिए ।

कोरोनाको महामारी सुरू भएदेखि प्राय भेटघाट ओलीले बालुवाटारमै गर्दै आएका छन् । पछिल्लो पटक सरकारले ल्याएको संवैधानिक परिषद्सम्बन्धी अध्यादेशको सन्दर्भमा नै नेकपाभित्र विवाद चुलिएको छ ।

बुधबारको स्थायी समिति बैठकले अध्यादेश तथा सघीय संसद्को विशेष अधिवेशनको माग राखी पार्टीका सांसदले राष्ट्रपतिसमक्ष दिएको आवेदन दुवै फिर्ता लिने निर्णय गरेको थियो ।

तर अध्यादेश अहिलेसम्म औपचारिक रुपमा फिर्ता भएको छैन । नेकपा स्थायी कमिटीको अर्को बैठक आइतबार बस्दैछ । केन्द्रीय समितिको बैठक पुस दश गतेका लागि बोलाइएको छ ।

Leave A Reply

Your email address will not be published.