रौतहटको श्रीराम सुगर मिल्सका तीन जनाविरुद्ध पक्राउ पूर्जी जारी

0

काठमाडौं : रौतहटको मह्मदपुर गरुडामा रहेको श्रीराम सुगर मिल्सका संचालकसहित तिनजना विरुद्ध पक्राउ पूर्जी जारी भएको छ ।

रौतहटका उखु किसानको बक्यौता रकम भुक्तानी नगरेको भन्दै उखु उत्पादक संघ समेत ४६ किसानहरुले श्रीराम सुगर मिल्सका संचालक माथि जिल्ला प्रहरी कार्यालयमा बुधवार ठगी मुद्दा दायर गराएका थिए ।

सोही मुद्दामा जिल्ला अदालत रौतहटले श्रीराम सुगर मिल्सका संचालक सहित तिन जनाको विरुद्ध पक्राउ पूर्जी जारी गरेको हो । श्रीराम सुगर मिलका सञ्चालक हितेश गोल्छा, संचालक विशाल अग्रवाल र श्रीराम सुगर मिल्स गरुडाका कार्यकारी उपाध्यक्ष पद्मकान्त झालाई पक्राउ गर्न पुर्जी जारी भएको हो ।

पक्राउ पूर्जी जारी भएका व्यक्तिहरुको खोजतलासका लागी आवश्यक समन्वय भइरहेको प्रहरीले जनाएको छ । पक्राउ पूर्जी जारी भएका तिनै जनाले किसानको बाँकी बक्यौता फछर्यौट नगरी मिल बन्द गरेर किसानलाई ठगेको आरोप किसान संघले लगाएको छ ।

मिलले आर्थिक वर्ष २०७१/०७२ को १२ करोड, २०७५/०७६ को २८ करोड ५० लाख र २०७६/०७७ को ५० लाख रुपैयाँ गरी ४१ करोड रुपैयाँ भुक्तानी नदिएको उखु उत्पादक संघ रौतहटका वरिष्ठ उपाध्यक्ष रामप्रमोद यादवले बताए ।

मिलले किसानहरुको रकम नतिर्ने उद्देश्यले गत साउन ११ गते उद्योग बन्द भएको सूचना टाँस गरेको थियो । त्यसपछि मिल सञ्चालक सम्पर्कविहीन भएका थिए ।

Leave A Reply

Your email address will not be published.