कांग्रेसले आज सरकारविरुद्ध देशव्यापी विरोध प्रदर्शन गर्दै

0

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आज सरकारविरुद्ध देशव्यापी विरोध प्रदर्शन गर्दैछ । पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि दुर्व्यवहार, भ्रष्टाचार र कोरोना नियन्त्रणमा सरकारको लापरवाहीको विरोधमा कांग्रेसले सरकारविरुद्ध सोमबार ७७ वटै जिल्लामा प्रदर्शन गर्न लागेको हो ।

कांग्रेस वरिष्ठ नेता पौडेलमाथि तनहुँमा भएको धरपकडपछि कांग्रेस सरकारविरुद्ध कडा रुपमा प्रस्तुत हुन लागेको हो । देशभर हुने विरोध प्रदर्शनलाई सम्बोधन गर्न कांग्रेसका केन्द्रीय नेताहरु विभिन्न जिल्ला पुगेका छन् ।

पार्टी सभापति देउवा हेटौडा पुगेका छन् भने वरिष्ठ नेता रामचन्द्र पौडेलले काठमाडौंमा सम्बोधन गर्नेछन् । त्यस्तै उपसभापति बिमलेन्द्र निधि भक्तपुर, महामन्त्री डा. शशांक कोइराला मोरङ, कोषाध्यक्ष सीतादेवी यादव ललितपुर, सहमहामन्त्री डा. प्रकाशशरण महत झापा, पूर्वउपसभापति गोपालमान श्रेष्ठ काभ्रे, पूर्वमहामन्त्री प्रकाशमान सिंह धनुषामा सम्बोधन गर्ने कार्यक्रम छ ।

पूर्वसहमहामन्त्री डा. रामशरण महत चितवन, अर्जुननरसिंह केसी कास्की, पूर्वकोषाध्यक्ष चित्रलेखा यादव सप्तरी र सहमहामन्त्री सुनीलबहादुर थापा धनकुटा पुगिसकेका छन् ।

कांग्रेस सभापति शेरबहादुर देउवाले विज्ञप्ति जारी गर्दै कोरोना महामारीको समयमा प्रदर्शनमा भौतिक दूरी राख्न तथा मास्क प्रयोग गर्न र गराउन आग्रह गरेका छन् । उनले जिम्मेवार प्रतिपक्षीको भूमिका निभाउँदै आएकोमा सरकारले त्यसलाई कमजोरीका रुपमा लिएको दावी गर्दै अब संसद र सडकबाट सशक्त ढंगले अगाडि बढ्ने बताएका छन् ।

उनले आजको विरोधलाई सांकेतिक प्रदर्शन भन्दै सरकारविरुद्धको आन्दोलनको सुरुवात भएको पनि बताएका छन् । कांग्रेसले सोमबारको प्रदर्शनपछि सरकारविरुद्ध काठमाडौं केन्द्रित आन्दोलन गर्ने तयारी गरेको छ ।

Leave A Reply

Your email address will not be published.