एआइजीको दरबन्दी थप्ने निर्णय तत्काल फिर्ता लिन सरकारलाई समितिको निर्देशन

0

काठमाडौं : एआइजीको दरबन्दी थप्ने निर्णय तत्काल फिर्ता लिन संसदीय समितिले सरकारलाई निर्देशन दिएको छ । सिंहदरबारमा बुधबार बसेको प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था समिति बैठकले एआइजीको दरबन्दी थप्ने सरकारको निर्णय फिर्ता गर्न सरकारलाई निर्देशन दिएको हो ।

मन्त्रिपरिषद्ले केही दिनअघि एक जना एआइजी र तीन जना डिआइजी थप्ने निर्णय गरेको थियो । यसको केही दिनपछि डिआइजी विश्वराज पोखरेललाई आकस्मिक रुपमा एआइजीमा बढुवा गरिएको थियो ।

समिति सभापति शशी श्रेष्ठले सम्बन्धित मन्त्रालयको प्रस्तावबिनै एआइजीको दरबन्दी थप्ने मन्त्रिपरिषद्को निर्णय फिर्ता दिन निर्देशन दिएका हुन् । सभापति श्रेष्ठले हचुवामा एआईजीपी थप्ने निर्णय नगर्न समितिले निर्देशन दिएको बताए ।

समिति बैठकमा उपस्थित गृहमन्त्री रामबहादुर थापाले एआइजीको दरबन्दी थप्ने निर्णय बिधि र प्रक्रिया विपरित देखिएको गुनासो सांसदहरुबाट आएको भन्दै यस बिषयमा थप बुझ्ने बताए । उनले समितिले गरेको निर्देशनलाई आधार मानेर अगाडि बढ्ने पनि बताए ।

बैठकमा नेकपाका सांसदहरू लालबाबु पण्डित, पम्फा भुसाल, झपट रावल, कांग्रेसका दिलेन्द्र बडू, डिला संग्रौला लगायतले सरकारको निर्णयको विरोध गरेका थिए । उनीहरुले विधि र प्रक्रिया मिचेर सरकारले व्यक्तिलाई हेरेर अनुकुल निर्णय गरेको आरोप समेत लगाए ।

बैठकमा केहि सांसदहरुले भने समितिको उक्त निर्णय प्रति आपत्ती जनाएका थिए । सांसद अमरेशकुमार सिंह रर प्रेम सुवालले सरकारको क्षेत्राधिकारको विषय भएको भन्दै प्रहरी संगठनको सरोकार र आवश्यकताका आधारमा निर्णय गर्न सक्ने बताएका थिए ।

Leave A Reply

Your email address will not be published.