एनसीसीको अधिकार क्षेत्र नखुम्च्याउन शेष घलेले दिए सुझाव

0

सिड्नी।  गैरआवासीय नेपाली संघका पूर्व अध्यक्ष तथा प्रमुख संरक्षक शेष घलेले एनसीसीको अधिकार क्षेत्रलाई नखुम्च्याउन सुझाव दिएका छन्।   

गत आइतबार भर्चुअल माध्यमद्वारा आयोजित एनआरएनए अष्ट्रेलियाको वार्षिक साधारणसभालाई सम्बोधन गर्दै डा. घलेले एनआरएनएमा अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसीसी) ले राष्ट्रिय समन्वय परिषद् (एनसीसी) हरुलाई  बलियो बनाउने र सहजीकरण गर्नु पर्ने बताए।  उनले संघको नेतृत्वलाई धेरै महत्वाकांक्षी योजनाहरु ल्याउनुको सट्टा विस्तारै अगाडी बढ्न सुझाव पनि दिए। 

प्रमुख संरक्षक घलेले भने, “लेट अस बी रियलिस्टिक।  लेट अस गो स्लो।  ड्रास्टिक  कुरा नगरौं जसले गर्दा नराम्रो नतिजा हुन सक्छ। साह्रै आत्तिनु पर्दैन, विस्तारै गरौँ, सहि काम गरौँ।“  उनले कोभिड -१९ ले  विश्वभरि नै निकै कठिन स्थिति ल्याएको चर्चा गर्दै सबैलाई एकजुट हुन अपिल गरे। 

अग्रजहरुले दूरदृष्टि राखेर एनआरएनएलाई सदस्यतामा आधारित संस्था बनाएको बताउंदै घलेले सदस्यता शुल्क लिने वा निशुल्क गर्ने कुरा एनसीसीहरुलाई नै छाडी दिन सुझाव दिए।  आफ्नो कार्यकालमा तयार गरिएको भिजन २०२० दस्तावेजमा रोटरीको जस्तो निर्वाचन प्रणालीमा जान सुझाव दिइएको बताउंदै उनले एनआरएनएलाइ सबै अटाउने संस्था बनाउनु पर्ने बताए।  उनले एनआरएनए अष्ट्रेलियाले नेपाली समुदाय र नेपाली विद्यार्थीलाई महामारीको समयमा दिएको साथ सहयोगको प्रशंसा गरे । उनले संगठनलाई थप बलियो र आर्थिक रुपमा सम्पन्न बनाउन लाईफ मेम्बर लगायतको न्यूनतम शुल्क तोकेर क्षमता अनुसार स्वइच्छाले लिने वा खुल्ला राखेर लिने भन्नेबारे स्पष्ट हुनुपर्ने समेत धारणा राखे ।

कार्यक्रममा अष्ट्रेलियाका लागि नेपाली राजदूत महेशराज दाहालले अधिवेशन सफलताको शुभकामना दिंदै संस्थाको दीर्घकालिन हितका लागि सबैले ध्यान दिनुपर्ने बताए  । कोभिड–१९ को संकटको समयमा एनआरएनए अष्ट्रेलियाले खेलेको भूमिका र साथ, सहयोगको खुलेर प्रशंशा गर्दै दूतावास र नेपाल सरकारले समेत उच्च मूल्यांकन गरेको उनले बताए  । एनआरएनए अष्ट्रेलियाले नेपाली समुदाय र विद्यार्थीको हक हितका लागि ठूलो मेहनत गरेको भन्दै दूतावासले हरेक खालको साथ, सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे  ।

उद्घाटन कार्यक्रममा गैरआवासीय नेपाली संघका केन्द्रिय अध्यक्ष कुमार पन्तले कोभिड महामारीमा एनआरएनए अष्ट्रेलियाले खेलेको भूमिकाको प्रशंसा गर्दै अधिवेशन सफलताको कामना गरे  । उनले लाखौँ, नेपाली श्रमिकको रोजगारी खोसिएको र हजारौँ विद्यार्थी प्रभावित भएको जानकारी गराउँदै एनआरएनए अष्ट्रेलियाको अझ ठूलो साथ र सहयोगको खाँचो औल्याए  । पञ्जिकृत सदस्य बाहेक विश्वभर छरिएका नेपाली समुदायको ठूलो सहयोग र साथका कारण एनआरएनएनको गतिविधि र सहयोग विस्तारित भएको भन्दै नेपालमा रोजगारी सिर्जना कसरी गर्ने भन्नेबारे सम्मेलनको आयोजना गर्न लागिएको उनले जानकारी दिए  ।

एनसीसीहरु संघका खम्बा

संघका पूर्व केन्द्रिय उपाध्यक्ष तथा सल्लाहकार कुल आचार्यले एनसीसीहरु संघका खम्बा हुन् भन्दै आआफ्नो देशको नियम कानून अनुसार उनीहरुलाई चल्न दिनु पर्ने बताए।  त्यसो गर्दा मात्रै एनसीसीहरु  बलियो हुने उनको सुझाव थियो।  कोभिड – १९ बाट पीडित नेपाली समुदाय तथा विद्यार्थीहरुलाई एनआरएनए अस्ट्रेलियाले पुराएको सहयोगको प्रशंसा गर्दै उनले कसैको सामु हात थाप्नु पर्ने स्थिति नआओस् भन्ने तर्फ एनसीसीहरु सजग रहनु पर्ने बताए।

उद्घाटन समारोहमा आईसिसि उपाध्यक्ष मन केसी, महिला उपाध्यक्ष रवीना थापाले एनआरएनए अष्ट्रेलियाको अधिवेशको सफलताको कामना गर्दै सामाजिक संस्थाको कामकारबाही पारदर्शी र विश्वसनीय हुनुपर्ने धारणा राखेका थिए । एनआरएनए अष्ट्रेलियाले नेपाली समुदाय र नेपाली विद्यार्थीको राहत तथा हक हितमा खेलेको भूमिकाको उनीहरुले प्रशंसा गरेका थिए ।

उद्घाटन सत्रको समापन गर्दै एनआरएनए अष्ट्रेलियाका अध्यक्ष केशब कँडेलले सहभागिता र महत्वपूर्ण बिचारका लागि सबैलाई धन्यवाद दिए । उनले समाजसेवामा विश्वास र पारदर्शीता महत्वपूर्ण हुने भन्दै सिंगो अष्ट्रेलियामा रहेका नेपाली समुदायका साथै नेपाल र नेपालीको हकहितमा क्रियाशील रहेको जानकारी दिए । अध्यक्ष कँडेलले नेपाली विद्यार्थी, विभिन्न समुदायका साथै नेपाली नियोग तथा अष्ट्रेलिया सरकारको विश्वास र साथ सहयोग महत्वपूर्ण हुने भन्दै सबैको साथ, सहयोगका लागि आग्रह गरे  ।

सन् २००५ मा गठन भएको एनआरएन अष्ट्रेलियामा १२ हजार सदस्य रहेका छन् ।  

Leave A Reply

Your email address will not be published.