मलेसिया पुगेका तीनयुवा रित्तोहात फर्के

0

कञ्चनपुर, १५ साउन । रोजगारीका लागि दुई महिनाअघि मलेसिया पुगेका कञ्चनपुरको बेलौरी नगरपालिकाका तीन जना युवा ठगिएका छन् । ठगिनेमा नगरपालिकाको वडा नं २ का २३ वर्षीय सुरेश चौधरी, वडा नं ४ का २१ वर्षीय अनिल राना र २२ वर्षीय अमर राना रहेका छन् ।
स्थानीय एजेन्ट मानबहादुर तामाङको सहयोगमा काठमाडौँस्थित स्मार्ट ओभरसिज प्रालि नामक मेनपावर कम्पनीलाई रु एक लाख ५० हजार रकम बुझाएर मलेसिया पुगेका युवालाई रोजगारदाता कम्पनीले भनेअनुसारको तलब र काम नदिएपछि उनीहरु रित्तो हात घर फर्केका हुन् । बैदेशिक रोजगार कम्पनीले मासिक एक हजार २०० मलेसियाली मुद्रा उपलब्ध गराउने सम्झौता अनुरुप युवा रोजगारीका लागि गएका थिए ।
सम्झौताअनुसार फुल प्याकिङ गर्ने काम उल्लेख गरिएको थियो, पीडित युवा सुरेश चौधरीले भन्नुभयो, “मलेसिया पुगेपछि राहदानी खोसेर कम्पनीले निर्माण सामग्री ओसार्ने र तरकारीखेतीमा लगायो, आठघन्टा काम गर्ने भनिएकोमा बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म १२ घन्टा भन्दा बढी काममा लगाइन थालेपछि घर फिर्ता भएका छौँ ।”
“कम्पनीले भनेअनुसारको तलबसमेत नदिने भएपछि फोनमार्फत अभिभावकलाई यसबारे जानकारी गराई राजनीतिक दलहरुको सहयोगमा घर फिर्ता हुन सकेका छौँ”, पीडित अनिल रानाले भन्नुभयो । मलेसिया पठाउने मेनपावर कम्पनीमाथि कारबाही र मेनपावर कम्पनीले असुलेको पैसा फिर्ता हुनुपर्ने माग युवाले गरेका छन् ।

Leave A Reply

Your email address will not be published.