कास्की पहिरोमा मर्नेको संख्या २४ पुग्यो

0

पोखरा, १४ साउन । कास्कीको भदौरे तामागी र लुम्लेमा गएको पहिरोमा परी मृत्यु हुनेको संख्या २४ पुगेको छ । बुधबार राति अविरल वर्षासँगै गएको पहिरोको कारण लुम्लेमा १९ र भदौरे तामागीमा ५ गरी २४ जनाको मृत्यु भएको हो । लुम्लेमा पहिरोले १७ घर बगाउँदा लुम्ले–६ का अर्जुन गुरुङ, रत्ना पौडेल, बसन्त विक, चिजा विक, सम्झना विक, सविना विक, सुनिल विक, मञ्जु सुनार र उनकी ३ महिनाकी छोरीको मृत्यु भएको छ । यस्तै, सुमकुमारी जिसी, सुगम जिसी, संगम जिसी, छिरिङ राई, नाम नखुलेकी उनकी श्रीमतीका साथै खिमौरी विक र पद्मा देवकोटाको मृत्यु भएको कास्की प्रहरीले जनाएको छ ।
यस्तै, भदौरेमा ८ घर बगाउँदा टिकाराम विक, रामकुमारी विक, नन्दकली पराजुली, गौरी पराजुली र करण पराजुलीको मृत्यु भएको छ । पहिरोमा परी लुम्लेमा ७ जना घाइते र १५ भन्दा बढी बेपत्ता भएको स्थानीयले जनाएका छन् । भदौरे तामागीमा पनि १३ जना घाइते भएका छन् भने ५ जना बेपत्ता छन् । लुम्लेको वडा नम्बर ४ र ६ मा बुधबार राति गएको पहिरोले २० हजार लिटरको पानी ट्यांकी बगाएको छ । घटनास्थलमा डोजर प्रयोग गरी सेना र प्रहरीले उद्धार गरिरहेका छन् । दुबैतर्फका घाइतेहरुलाई पोखरा ल्याइएको छ ।
भदौरे तामागीमा भने एक हजार मिटरभन्दा माथिबाट आएको पहिरोले भदौरेमा जाने तीनओटा पुलसमेत बगाएको छ भने पहिरो झरेर बस्ती नजिकै रहेको खहरे र हर्पन खोलासम्म पुगेको छ । खहरे र हर्पनखोला बढेर सुुरक्षित स्थानतर्फ जाँदै गर्दा पहिरो आएको स्थानीयले बताएका छन् । पहिरो बगेर फेवातालमा पुग्दा आसपासको अतिक्रमित क्षेत्रसमेत डुबानमा परेको छ । पहिरोले नौविसे, उपल्लाखेतलगायतका क्षेत्रका केही घरमासमेत क्षति पुर्‍याएको छ । प्रहरी र सेनाको टोलीले घटनास्थल पुगेर उद्धार गरिरहेका छन् ।

Leave A Reply

Your email address will not be published.