अधिवेशन सर्ने हल्लासँगै कांग्रेसमा विवाद

0

काठमाडौं, १५ साउन । नेपाली कांग्रेसको महाधिवेशन तयारी सेलाउन थालेको छ । असोज २ गते १३ औं महाधिवेशन आयोजना गर्ने कार्यतालिका रहे पनि आन्तरिक तयारी सुस्त रहेका कारण महाधिवेशन प्रभावित हुने सम्भावना देखिएको छ । वर्षा, पहिरो तथा संविधान निर्माणमा देखिएको चटारोका कारण भदौ १ गते हुनुपर्ने गाउँ तथा नगर अधिवेशन नै प्रभावित हुने सम्भावना देखिएको छ ।
घोषित कार्यतालिका अनुसार गाउँ र नगर अधिवेशन भदौ १ गते, क्षेत्री अधिवेशन भदौ ७ गते र जिल्ला अधिवेशन भदौ १० गते सम्पन्न गर्नुपर्ने छ । तर सो कार्यतालिका अनुसार अधिवेशन हुन नसक्ने नेताहरु नै बताउन थालिसकेका छन् । विभिन्न जिल्लामा क्रियाशील सदस्यता विवाद कायम छ । विवाद नसल्टाइ अधिवेशन गर्न सक्ने अवस्था देखिएको छैन । तर अधिवेशन सर्ने सम्भावना बढेसँगै पार्टीभित्र यसैलाई समेत विवादको विषय बनाउन थालिएको छ ।
कांग्रेस नेता डा. प्रकाशशरण महतका अनुसार केही जिल्लामा क्रियाशील सदस्यता विवाद कै कारण अधिवेशन पर सार्न प्रयास भइरहेको छ । उनले विवाद सुल्झाउनका लागि गठित छानविन समितिले यसबारे छानविन गरेर विवाद सुल्झाउने जिकिर गर्दै भने, ‘क्रियाशील सदस्यता विवादका कारण अधिवेशन पर सार्नु गलत कुरा हो ।’ उनले जानाजान अधिवेशन पर सार्नका लागि विभिन्न बहाना बनाउन थालिएको आशंकासमेत गरे ।
अर्का नेता पुरुषोत्तम बस्नेत भने महाधिवेशनका लागि तयारी पुरा हुन नसके सार्न सकिने बताउँछन् । उनले भने, ‘अहिले सम्भव नहुने हो भने पछि सार्न सकिन्छ ।’ मुलुक संविधान निर्माणको एजेण्डामा होमिएका कारण गाउँ, नगर अधिवेशनमा ढिलाइ हुनु स्वाभाविक रहेको उनको भनाई थियो ।

Leave A Reply

Your email address will not be published.