नेपालमा थपिए १९८० कोरोना संक्रमित, थप ३०४३ जना संक्रमणमुक्त

0

काठमाडौं : नेपालमा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या दुई लाख नाघेको छ । पछिल्लो २४ घण्टामा ३ हजार ४३ जना कोरोनालाई जितेसँगै संक्रमणमुक्त हुनेको संख्या २ लाख २ हजार ६७ पुगेको छ । अहिलेसम्मका ९० दशमलब नौ प्रतिशत संक्रमित कोरोनामुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा थप १ हजार ९ सय ८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । एकैदिन १० हजार ३ सय ८१ वटा नमुना पीसीआर विधिबाट परीक्षण गर्दा १ हजार १ सय ९१ पुरुष र ७ सय ८९ जना महिलामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमित हुनेको संख्या २ लाख २२ हजार २ सय ८८ आठ पुगेको छ ।

काठमाडौं उपत्यकामा थप १ हजार सात जनामा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौंमा ७ सय ७९, ललितपुरमा १ सय ४३ र भक्तपुरमा ८५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

सोमबार सबैभन्दा धेरै बागमती प्रदेशमा १ हजार २ सय ६९ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । त्यसैगरी प्रदेश १ मा २ सय ४५, प्रदेश २ मा ४७, गण्डकी प्रदेशमा १ सय ८४, लुम्बिनी प्रदेशमा १ सय ६५, कर्णालीमा २३ र सुदूरपश्चिम प्रदेशमा ४७ जना कोरोनभाइरस संक्रमित थपिएका छन् ।

अहिले देशभर सक्रिय संक्रमितको संख्या १८ हजार ८ सय ८४ रहेको छ । तीमध्ये १२ हजार २ सय ८१ जना होम आइसोलेसनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । ६ हजार ६ सय ३ जना संस्थागत आइसोलेसनमा रहेका छन् । संक्रमित मध्ये ३ सय ६५ जना आईसीयु र ६३ जना भेन्टिलेटरमा रहेका छन् ।

कोरोना भाइरस संक्रमण पहिचानका लागि हालसम्म १६ लाख ७० हजार ४ सय ५६ वटा नमुना पीसीआर विधिबाट परीक्षण गरिएको छ । अहिले देशभरका क्वारेन्टिनमा बस्नेहरुको संख्या ६ सय २९ जना रहेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा नेपालमा थप १६ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १३ सय ३७ पुगेको छ ।

Leave A Reply

Your email address will not be published.