नेकपा सचिवालय बैठक शुक्रबार बस्ने

0

काठमाडौं : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालयको बैठक शुक्रबार अपरान्ह चार बजे बस्ने भएको छ । पार्टी महासचिव विष्णु पौडेलले दुई अध्यक्षसँगको परामर्शमा शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बैठक आह्वान गरेका हुन् ।

बहुमत सदस्यले छुट्टै बैठक गर्ने चेतावनी दिएपछि प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली बैठक बोलाउन सहमत भएका हुन् । यसअघि बहुमत सचिवालय सदस्यका तर्फवाट अर्का अध्यक्ष पुष्पकमल दाहालले ओलीले बैठक बोलाउन अटेर गरेको भन्दै आजका लागि पार्टी कार्यालय धुम्बाराहीमा बैठक राखेका थिए ।

सहमतिमा शुक्रबारका लागि बैठक आह्वान भएपछि सो बैठक स्थगित भएको छ । पार्टीका अध्यक्ष पुष्पकमल दाहाल नेताहरु माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठले बैठक बोलाउन यसअघि अध्यक्ष ओलीलाई मागपत्र समेत बुझाएका थिए ।

पार्टी निर्णयको प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीले उल्लंघन गरेको बहुमत सदस्यहरुको आरोप छ । राजदूत नियुक्ति, मन्त्रिपरिषदमा हेरफेर, कर्णाली विवाद, भारतीय जासुसी संस्थाका प्रमुखको नेपाल भ्रमणलगायत विषयलाई लिएर नेकपामा विवाद चर्केको छ । केही समययता दुबै पक्षले आफु निकटका नेताहरुको भेला गर्दै आएका छन् ।

Leave A Reply

Your email address will not be published.