कास्कीको पहिरोमा परी मृत्यु हुनेको संख्या २० पुग्यो

0

पोखरा, १४ साउन । कास्कीको भदौरे तामागी र लुम्ले काँडेमा गएको पहिरोमा परी मृत्यु हुनेको संख्या २१ पुगेको छ । बुधबार राति अविरल बर्षासँगै गएको पहिरोको कारण लुम्लेमा १६ र भदौरे तामागीमा पाँच गरी २१ जनाको मृत्यु भएको हो । लुम्लेमा पहिरोले १७ घर बगाउँदा लुम्ले-६ का अर्जुन गुरुङ, रत्ना पौडेल, बसन्त बिक, चिजा बिक, सम्झना बिक, सविना बिक, सुनिल बिक, मञ्जु सुनार र उनकी ३ महिनाकी छोरीको मृत्यु भएको छ । यस्तै, सुमकुमारी जिसी, सुगम जिसी, संगम जिसी, छिरिङ राई, नाम नखुलेकी उनकी श्रीमतीका साथै खिमौरी बिक र पद्मा देवकोटाको मृत्यु भएको कास्की प्रहरीले जनाएको छ ।
यस्तै, भदौरेमा ८ घर बगाउँदा टिकाराम बिक, रामकुमारी बिक, नन्दकली पराजुली, गौरी पराजुली र करण पराजुलीको मृत्यु भएको छ । पहिरोमा परी लुम्लेमा ७ जना घाइते र १५ भन्दा बढी बेपत्ता भएको स्थानीयले जनाएका छन् । भदौरे तामागीमा पनि १३ जना घाइते भएका छन् भने ५ जना बेपत्ता छन् । लुम्ले ४ र ६ वडामा बुधबार राति गएको पहिरोले २० हजार लिटरको पानी ट्याङ्की बगाएको छ । घटनास्थलमा डोजर प्रयोग गरी सेना र प्रहरी उद्धारकार्यमा जुटेका छन् । दुबैतर्फका घाइतेहरुलाई पोखरा ल्याइएको छ ।
भदौरे तामागीमा भने एक हजार मिटरभन्दा माथिबाट आएको पहिरोले भदौरेमा जाने तीनओटा पुलसमेत बगाएको छ भने पहिरो झरेर बस्ती नजिकै रहेको खहरे र हर्पन खोलासम्म पुगेको छ ।
खहरे र हर्पनखोला बढेर सुरक्षित स्थानतर्फ जाँदै गर्दा पहिरो आएको स्थानीयले बताएका छन् । पहिरो बगेर फेवातालमा पुग्दा आसपासको अतिक्रमित क्षेत्रसमेत डुबानमा परेको छ । पहिरोले नौविसे, उपल्लाखेतलगायतका क्षेत्रमासमेत केही घरमा क्षति पुर्‍याएको छ । प्रहरी र सेनाको टोलीले अहिले घटनास्थल पुगेर उद्धार गरिरहेका छन् । उता, बुधबार राति परेको अविरल वर्षासँगै पोखरा–बाग्लुङ राजमार्गको विभिन्न स्थानमा पहिरो जाँदा राजमार्ग अवरुद्ध भएको छ । राजमार्ग खुलाउने प्रयास भइरहेको छ ।

Leave A Reply

Your email address will not be published.