विदेशमा रहेका नागरिकको उद्धार उडान बन्द गर्न सीसीएमसीको सिफारिस

0

काठमाडौं : कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले कोरोनाका कारण विदेशमा अलपत्र परेका नेपालीहरूको उद्धार सकिएकाले उद्धार उडान बन्द गर्न सरकारलाई सिफारिस गरेको छ ।

सीसीएमसीले कुटनीतिक नियोगबाट विदेशमा रहेका नेपालको उद्धारका काम सकिएको जानकारी आएकाले थप नेपालीको उद्धार गर्नुपर्ने भए नियमित उडानबाटै समायोजन गरेर उद्धार गर्ने तथा उद्धारका लागि अब थप उडान नगर्न सरकारलाई सिफारिस गरेको हो ।

त्यस्तै कोरोना महामारीका कारण बन्द गरिएका दक्षिण एसिया लगायत अन्य उपयुक्त गन्तव्य स्थानहरुमा नियमित हवाई उडान सूचारु हुने भएको छ । हाल खुला गरिएका नियमित उडानका अतिरिक्त दक्षिण एसिया लगायत अन्य उपयुक्त गन्तव्य स्थानहरुमा नियमित हवाई उडान सूचारु गर्न पर्यटन मन्त्रालयमार्फत मन्त्रिपरिषद्मा प्रस्ताव गर्ने निर्णय गरेको हो ।

बैठकले विदेशी कुटनीतिकका कर्मचारीहरु नेपाल आउनलाई अनुमति भएकामा परिवार समेत आउन पाउन गरी छुट दिन सरकारलाई सिफारिस गरेको छ ।

त्यस्तै विदेशमा रहेका नेपालीहरुको शव व्यवस्थापन गर्न बाकी रहेकाले शव नेपाल ल्याउनका लागि व्यवस्थापन गर्न श्रम मन्त्रालयमार्फत मन्त्रिपरिषद्मा प्रस्ताव लैजाने निर्णय पनि बैठकले गरेको छ ।

बैठकले हाल अन्तर्राष्ट्रिय सतह मार्गका १३ स्थानबाट नेपाल प्रवेश गर्ने व्यवस्था मिलाइएकोमा बैतडीको झुलाघाटबाट पनि प्रवेश दिने निर्णय गरेको छ । त्यस्तै पर्यटन गतिविधिहरुलाई केहि खुला गर्नका लागि केबलकार, जंगलसफारी लगायतका क्षेत्रलाई खुला गर्न दिने निर्णय पनि भएको छ ।

बैठकले स्थानीय तहमा होम आइशोलेशनमा बसेका नागरिकलाई स्वास्थ्य परामर्श दिनका लागि वडाबाट स्वास्थ्यकर्मीले स्वास्थ्य परामर्श गर्ने व्यवस्था मिलाउन संघीय मामिला मन्त्रालयलाई निर्देशन दिएको छ ।

Leave A Reply

Your email address will not be published.