नेकपाका बहुमत सचिवालय सदस्यले ओलीलाई भेटदै, सचिवालय बैठक बोलाउन आग्रह गर्ने

0

काठमाडौं : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का बहुमत सचिवालय सदस्यले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी ओलीलाई तत्काल सचिवालय बैठक बोलाउन आग्रह गर्ने भएका छन् । आज बालुवाटारमा प्रधानमन्त्री ओलीलाई भेटेर उनीहरुले यस्तो आग्रह गर्न लागेका हुन् ।

प्रधानमन्त्री ओलीलाई लिखित रुपमै बैठक बोलाउन आह्वान गर्ने असन्तुष्ट नेताहरुको तयारी छ । प्रधानमन्त्रीलाई भेट गर्नुअघि उनीहरुले धुम्बाराहीमा छलफल गरेका थिए । प्रधानमन्त्री ओलीले पनि आज विहान आफु निकट नेतासँग छलफल गरेका छन् ।

ओलीले पछिल्लो स्थायी कमिटी बैठकका निर्णयहरु एकपछि अर्को गर्दै उल्लंघन गरेकाले उनले विकल्प दिनुपर्ने असन्तुष्ट नेताहरुको भनाइ छ । पार्टी विवादका विषयमा छलफल गर्न सचिवालय बैठक बोलाउनुपर्ने अर्का अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेताहरु माधव नेपाल, झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठको माग छ ।

प्रधानमन्त्री ओली भने छलफलको औचित्य नभएको भन्दै बैठक बोलाउन अस्वीकार गर्दै आएका छन । उनले पार्टी विभाजनको घोषणा गर्ने चेतावनी समेत दिएका छन् । राजदूत नियुक्ति, मन्त्रिपरिषदमा हेरफेर, कर्णाली विवाद, भारतीय जासुसी संस्थाका प्रमुखको नेपाल भ्रमणलगायत विषयलाई लिएर नेकपामा विवाद चर्केको छ । केही समय यता दुबै पक्षले आफु निकटका नेताहरुको भेला गर्दै आएका छन ।

Leave A Reply

Your email address will not be published.