विदेशमा रहेका थप ९६३ जना नेपालीहरुलाई कोरोना संक्रमण

0

काठमाडौं : कोरोना भाइरसको विश्वव्यापी दोस्रो लहर शुरु भएदेखि विदेशमा रहेका नेपालीहरुमा थप कोरोना संक्रमण देखिएको छ । गैरआवासीय नेपाली संघका अनुसार गत साता विदेशमा रहेका थप ९ सय ६३ जना नेपालीहरुलाई कोरोना संक्रमण देखिएको हो । संक्रमति मध्ये ४ सय ५० जना रोमानियामा रहेका नेपालीहरु छन् ।

गत साता रोमानिया, पोल्याण्ड, स्पेन, कतार, भारत, क्यानाडा र बेलायतका रहेका नेपाली कोरोना भाइरसबाट संक्रमण भएका हुन् । गैरआवासीय नेपाली संघका अनुसार यो साता विदेशमा कुनै पनि नेपालीले कोरोना भाइरसका कारण ज्यान गुमाउनु परेको छैन ।

विदेशमा ४२ देशमा रहेका नेपाली मध्ये ४३ हजार ५ सय ६९ जना नेपाली कोरोना भाइरसको संक्रमणमा परेका छन् । ती मध्ये ३९ हजार ५ सय ६५ जना अर्थात ९२ प्रतिशत नेपाली कोरोना मुक्त भएको स्वास्थ्य समितिले जनाएको छ । गत सातासम्म १९ देशका २ सय ८४ जना नेपालीको कोरोना संक्रमणबाट निधन भइसकेको गैरआवासीय नेपाली संघले जनाएको छ ।

संघले अति आवश्यक बाहेक अन्य कामको लागि यात्रा नगर्न सबैलाई आग्रह गरेको छ । बेलायत, फ्रान्स, बेल्जियम र जर्मनी जस्ता शक्तिशाली मुलुकमा दोस्रो चरणको लकडाउन सुरु भएको अवस्थामा अत्यावश्यक बाहेक अन्य प्रयोजनको लागि यात्रा तय नगर्न संघले आह्वान गरेको हो । संघका अनुसार कोरोना पछि ३३ देशका १ लाख २६ हजार ९ सय ८९ जना नेपालीहरुको उद्धार गरिएको छ ।

Leave A Reply

Your email address will not be published.