बाबुराम छुट्टै पार्टी खोल्ने तयारीमा

0

काठमाडौं, १२ साउन । संविधान निर्माणलाई पहिलो प्राथमिकता दिने कि ? पार्टी विभाजन रोक्ने अभियानलाई पहिलो प्राथमिकता दिने भन्ने कुरामा एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ दोधारमा परेका छन् । संविधान जारी नहुँदासम्म पार्टी विभाजन नगर्ने सहमति यसअघि नै अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता बाबुराम भट्टराईबीच भएको थियो । तर यी दुई नेताबीच भएको सहमतिले कुनै अर्थ राख्दो रहेनछ भन्ने कुरा हालै पुष्टि भएको छ ।
पोलिटब्युरो सदस्य लोकेन्द्र विष्टमगर, हेमन्तप्रकाश ओली र केन्द्रीय सदस्य ध्रुव पराजुलीलले पार्टी छाडेको सार्वजनिक घोषणा गरिसकेका छन् । तर अध्यक्ष प्रचण्डसँग गम्भीर असहमति राख्दै आएका लेखराज भट्ट र गोपाल किराँतीले पार्टी छाडेको पुष्टि गरेका छैनन् । यी दुवै नेता यतिबेला पार्टीको सम्पर्कमा नरहेको एमाओवादी स्रोतले जनाएको छ । जातीय आधारमा संघीयता नभए पार्टी छाड्ने घोषण किराँतीले यसअघि नै गरिसकेका छन् भने सम्पूर्ण सुदूरपश्चिमाञ्चल विकास क्षेत्रलाई एउटै प्रदेश नबनाइए पार्टी छाड्ने घोषणा लेखराज भट्टले गरेका थिए । तर किराँती र भट्ट दुवैको माग संविधानमा सम्बोधन नहुने निश्चित छ । यो कुरा थाहा पाएपछि उनीहरू छुट्टै बाटो लाग्ने भएका छन् ।
समाचार स्रोतका अनुसार किराँती जातीय पार्टी खोल्ने अभियानमा छन् भने भट्ट क्षेत्रीय पार्टी खोल्ने अभियानमा छन् । असन्तुष्ट भएर पार्टी छाड्न लागेकाहरूले एउटै मोर्चा बनाएर शक्ति निर्माण गर्नसक्ने सम्भावना नरहेकाले आत्तिनहाल्न अध्यक्ष प्रचण्डले आफू निकटस्थहरूलाई सुझाव दिएका छन् । असन्तुष्ट भएर पार्टी छाडिसकेका र छाड्न लागेकाहरू एक आपसमा मिल्न सक्ने अवस्था छैन । तर सबैले आरोप भने एउटै लगाउने गरेका छन् । जसरी चीनमा माओको नजिक बसेर लीन प्याओले पार्टी सिध्याउने षड्यन्त्र गरे, त्यसरी नै प्रचण्डको नजिक बसेर वर्षमान पुन, जनार्दन शर्माले पार्टी सिध्याउन लागेको उनीहरूको आरोप छ । प्रचण्डले आफ्नो परिवारबाहेक पहिलो घेरामा वर्षमान र जनार्दनलाई राख्ने गरेको, दोस्रो घेरामा हरिबोल गजुरेल, अग्नि सापकोटा र शक्तिबहादुर बस्नेतलाई राख्ने गरेको आरोप उनीहरूको छ ।
यसैगरी, एकता केन्द्र मसाल (जनमोर्चा) बाट एमाओवादीमा सामेल भएका नेताहरूमा पनि त्यत्तिकै असन्तुष्टि देखिएको छ । केही प्राविधिक कारणले उनीहरू अलग हुन सकिरहेका छैनन् । एकता केन्द्रबाट समाहित भएकामध्ये नारायणकाजी श्रेष्ठ र गिरिराजमणि पोखरेलबाहेक सबैले आफूहरू पेलानमा परेको, केही भूमिका नपाएको महसुस गरेका छन् । यसरी पेलानमा पारी भूमिकाविहीन बनाइएकाहरूमा अमिक शेरचन, लीलामणि पोखरेल, शशी श्रेष्ठ, निनु चापागाइँ, धर्मचन्द्र लावती, भीमप्रसाद गौतमलगायत छन् । नारायणकाजीको टिममा जो जो पर्न सकेनन्, उनीहरू पेलाइमा परेको समाचार स्रोतले जनाएको छ । पार्टीमा भूमिका नै नपाएपछि पूर्वउपप्रधानमन्त्री एवं तत्कालीन जनमोर्चाका अध्यक्ष अमिक शेरचनले केही समयअघि अलग पार्टी निर्माणको प्रयास गरेका पनि थिए, तर एकता केन्द्र मसालबाट समाहित भएकाहरूमध्ये आधा पनि फर्कने स्थिति नबनेका कारण यो योजनालाई उनले स्थगित राखेका छन् । मोहन वैद्यले आधा हिस्सा लिएर गइसकेको अवस्थामा एकता केन्द्र मसालबाट आएकाहरूलाई थप भूमिका दिनुपर्नेमा झन् खुम्च्याउँदै लगिएको महसुस उनीहरूले गरेका छन् ।
यता, प्रचण्डले भने एकता केन्द्रबाट आएका नेताहरूलाई पेल्ने, तर कार्यकर्तालाई संरक्षण गर्ने रणनीति अपनाएकाले अमिक शेरचन संकटमा परेका हुन् । यसैगरी, भट्टराई समूहले भने आगामी मंसिरसम्म पर्खने भएको छ । पूर्वसहमतिअनुसार मंसिरपछि भट्टराई अध्यक्ष हुने पालो हो । तर आफ्नो स्थान कहीँ न कहीँ सुरक्षित नभईकन भट्टराईका लागि मार्गप्रशस्त गर्न प्रचण्ड तयार छैनन् ।

Leave A Reply

Your email address will not be published.