बडादशैंको नवौं दिन आज महानवमी

0

काठमाडौं : बडादशैंको नवौं दिन तथा नवरात्रको अन्तिम दिन आज महानवमी भगवती दुर्गाको नवौं रूप सिद्धिदात्रीको पूजा–आराधना गरि मनाइँदैछ । नौ दिनसम्म गरेको नवरात्र विधि आजकै तिथिमा सम्पन्न गरिन्छ ।

दशैँघर र कोत लगायत विभिन्न शक्तिपीठमा बोका, हाँस, कुखुरा र राँगाको बलिसहित दुर्गा भवानीको विशेष पूजा गरिन्छ । पशुबलि नदिनेले भने आज आ–आफ्नो कुल परम्पराअनुसार कुभिण्डो, घिरौँला, मूला, काँक्रो र नरिवलसमेत बलि दिने चलन छ ।

यस अवसरमा हनुमानढोका दरबारका साथै नेपाली सेनाका ब्यारेक र गुल्महरुमा बाजागाजासहित जङ्गी निशाना पूजा र कोतपूजा गर्ने प्रचलन छ । आजका दिन हनुमानढोकामा राज्यका तर्फबाट ५४ बोका र ५४ राँगाको बलि दिने चलन छ ।

यस वर्ष भने कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गरी हनुमानढोकामा बलि नदिने बताइएको छ । हनुमानढोका दरबारमा रहेको वर्षमा एक दिन मात्र खुल्ने तलेजु भवानीको मन्दिर पनि आजकै दिन खुल्ने गर्दछ । महानवमीका अवसरमा आज नेवारी समुदायले भने भीमसेनलाई बलिसहित पूजा गर्ने गर्छन् ।

Leave A Reply

Your email address will not be published.