फ्रान्समा एकैदिन ४२ हजार बढीमा कोरोना संक्रमण

0

एजेन्सी : फ्रान्समा पुनः कोरोना भाइरसको संक्रमण तीव्र गतिमा फैलिएको छ । शुक्रबार एकै दिन ४२ हजारभन्दा बढीमा संक्रमण पुष्टि भएको हो । कोरोनाका कारण एकै दिन २ सय ९८ जनाको मृत्यु भएको छ ।

फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोनले आफ्नो देशले आउँदो वर्षको मध्यसम्म पनि कोरोना भाइरससँग लड्नुपर्ने बताएका छन् । गएको २४ घण्टामा ४२ हजारभन्दा धेरैमा कोरोना पोजेटिभ देखिएसँगै फ्रान्समा सङ्क्रमितको संख्या १० लाख ४१ हजार नाघेको छ ।

दश लाख संक्रमित नाघ्ने देशको सूचीमा फ्रान्स सातौं स्थानमा पुगेको छ । अमेरिका, भारत, ब्राजिल, रुस, स्पेन र अर्जेन्टीनामा सङ्क्रमितको संख्या १० लाख नाघिसकेको छ । फ्रान्ससहित युरोपका रुस, पोल्याण्ड, इटाली र स्वीट्जरल्याण्डसहितका देशमा कोरोना भाइरसको संक्रमण तीव्र गतिमा बढ्दै गएको छ ।

विश्व स्वास्थ्य संगठनले युरोपका देशमा संक्रमण बढ्दै जाँदा कोरोना भाइरसविरुद्धको युद्ध संकटपूर्ण बन्दै गएको जनाएको छ । युरोपमा पछिल्ला १० दिनमा संक्रमण तीव्र गतिमा बढिरहेको छ । युरोपमा अहिलेसम्म संक्रमितको संख्या ७८ लाख भन्दा बढी पुगेको छ । संक्रमबाट दुई लाख ४७ हजार भन्दा धेरैका मृत्यु भएको छ ।

अहिले विश्वभर ४ करोड २४ लाखमा कोरोना पुष्टि भएको छ । तिमध्ये ३ करोड १४ लाख संक्रमणमुक्त भएका छन । ११ लाख ४८ हजारको मृत्यु भएको छ ।

Leave A Reply

Your email address will not be published.